
अनियन्त्रित फुटपाथ व्यापार न्युनिकरण गरौँ
गोरखामा फुटपाथ अतिक्रमणको समस्या नयाँ होइन । यसलाई नियन्त्रण गर्न झण्डै १० बर्ष आएका प्रहरी प्रमुखले प्रयास गरेका थिए ।
हरेक कुराको फरक फरक खालको प्रयोजन हुन्छ । व्यापार गर्न निश्चित ठाउँ हुन्छ ।
हाटबजारका लागि अलग्गै स्थल हुन्छ । खेलकुद कार्यक्रम गर्न छुट्टै, मेला–महोत्सव गर्न छुट्टै ठाउँहरु हुन्छन् । फुटपाथको पनि आफ्नै अलग्गै प्रयोजन छ । तर गोरखा बजारको फुटपाथ घर, सटरवाला पसलेले पनि अतिक्रमण गरेका छन् ।
घर, सटर नभएका डोको, डालो, नाङ्लो तथा पछ्यौरा पसारेर पसल गर्ने गर्छन् । कतिपयले यसलाई दुखी, गरिबको ‘गरिखाने मेलो’ भन्दै भावनात्मक कुरा गर्छन्, सहानुभूति बटुल्ने प्रयास गर्छन् । तर कुरा त्यसो होइन ।
जुनसुकै कामको पनि आ–आफ्नै मापदण्ड हुन्छ । पसल, व्यापार, व्यवसायको आफ्नै मापदण्ड हुन्छ । गरिबीको सहानुभूति बटुल्दै बजारीकरणलाई अस्तव्यस्त बनाउनु हुदैन । व्यापार, व्यवसाय गर्न दर्ता गर्नुपर्छ, राजस्व तिर्नुपर्छ ।
अन्य मापदण्डहरु को पनि व्यवस्था छ तर यी सबै व्यवस्थालाई लत्याएर ‘गरिब’ को सहानुभूतिको आडमा फुटपाथभरि सामाज पस्सारो पारेर व्यापार गरिरहेको पाइन्छ । यो राम्रो काइदा होइन । त्यही सामान बेच्न भनेर कोहीले सरकारले तोकेअनुसारको प्रक्रिया पु¥याई सरकारलाई कर तिरेर बसेका हुन्छन् ।
तर उनकै अगाडि फुटपाथमा नीति नियम बिपरीत त्यही सामान बेच्न बस्दा एकातिर बास्तविक व्यापारी मर्कामा पर्छन् अर्कातिर राजस्व छली हुन्छ । नगर अस्तव्यस्त बन्छ ।
यदि फुटपाथ व्यापारलाई व्यवस्थित गर्ने हो भने कुनै ‘कर्नर’ उनीहरुको व्यपार गर्ने अधिकारको संरक्षण गर्दा हुन्छ । यसलाई व्यवस्थित गर्न विशेषगरी नगरपालिका कार्यालयको ध्यानाकर्षण हुनुपर्छ ।




