| सोमवार, कार्तिक २३, २०८३

मनास्लु क्षेत्रमा गन्तब्य थपौँ, पर्यटक बढाऔँ

भुकम्प र कोभिडले थलिएको गोरखाको मनास्लु पदमार्गको पर्यटन अहिले फेरी तङ्ग्रिन थालेको छ । गत आर्थिक वर्ष दुई हजार दुई सय ६६ जनाले मनास्लु पदमार्गमा यात्रा गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को तथ्याङ्क छ । यो तथ्याङ्क कोभिड प्रभाव पछिको धेरै हो । तर कोभिडअघि मनास्लुमा सात हजार सम्म पर्यटक वार्षिक पुगेको तथ्याङ्क पनि छ ।

हजारौँ पर्यटक सँगै गाईड, पोटरहरु पनि जान्छन् । सिजनका बेला त्यस क्षेत्रका होटलहरु भरिभराउ हुन्छन् । गोरखाको आरुघाट हुँदै, धार्चे गाउँपालिका भएर मनास्लु जाने धेरै हुन्छन् । चुमनुब्री गाउँपालिकामा मनास्लु पदमार्गको धेरै स्थान पर्छ । पदमार्गमा गएका पर्यटक चारदिन देखि सातदिन भित्र फर्कने धेरै हुन्छन् । सडक जति माथि गएको छ पर्यटक पनि गाडीमा त्यती नै माथि पुग्ने क्रम बढेको छ ।

मनास्लु पदमार्गमा यात्रा गर्न गएका, लार्केपासका लागि गएका पर्यटकलाई १० दिनदेखि दुई साता सम्मको प्याकेज बनाएर पदमार्ग आसपास राख्ने रणनीति बनाउनुपर्छ । पदमार्ग भएर जान सकिने गरी ठाउँमाठाउँमा बिभिन्न आकर्षणका केन्द्र निर्माण गर्ने, गन्तब्यहरु थप्ने, थपिएका गन्तब्यमा होटलहरु खोल्ने हो भने त्यहाँको प्राकृतिक सुन्दरताले पर्यटक लोभिन्छन् । मनास्लु क्षेत्रको मनास्लु बेसक्याम्प, वीरेन्द्रताल, कल्छुमानताल, श्रृङ्गीगुम्बा, पुङ्ेगन गुम्बा, राजेनगुम्बा, म्हुगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

यस्तै गन्तब्यअरु पनि छन् । चर्चामा कम छन् । यी भएका ठाउँमा पनि सबै पर्यटक पुग्दैनन् । थोरै मात्र पुग्ने गरेको स्थानीय बताउँछन् । धेरै जसो पदमार्ग भएरमात्रै आउजनाउ गरिरहेका हुन्छन् । कतिपय पर्यटक भने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मनाङ हुँदै पनि आउने गर्छन् । उनीहरुलाई पनि गोरखाको रमणिय ठाउँको बारेमा जानकारी दिने, घुम्न जान प्रेरिरत गराउन सक्नुपर्छ ।

त्यस्ता गन्तब्यको बारेमा टूेकिङ ऐजेन्सीहरुलाई पनि जानकारी गराउनुपर्छ । उनीहरुले आफ्नो कम्पनी मार्फत आउनेहरुलाई जाउँजाउँ लाग्ने गरी परिचय दिन सकुन् । प्रचार प्रसारमा स्थानीय सरकार अग्रसर हुनुपर्छ । यसले स्थानीयको रोजगारी, ब्यापार ब्यवशायमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ । सडक पुगेसँगै छोटिँदै गएको मनास्लु पदमार्गको रुट नयाँ गन्तब्यको खोजीसँगै पर्यटकको यात्रा लम्ब्याउन मद्धत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्