| सोमवार, कार्तिक २३, २०८३

नाम मात्रको सिसी क्यामरा

कुकुरै नभएका कतिपय ठूला घरहरुमा कुकुरदेखि सावधान ! भन्ने सूचना टाँस गरी दुश्मन तर्साउने गरिन्छ ।
यस्तै देखाउने मात्रका भएका छन्, कतिपय विकास निर्माणका काम ।

गोरखा नगरपालिका वडा नं. ११ को तेरकिलो बजारमा सडक बत्ती राखियो । अब बजार झिलिमिली हुन्छ भन्ने आशामा बसेका सो बजारबासीको सपना एक बर्ष नपुग्दै तुहियो । लामो समयसम्म बत्तिको महशुल नतिरेको भन्दै विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटिदियो ।

दोष प्राधिकरणको होइन । प्राधिकरणले त महशुल पाउनु पर्ने हो, नपाएपछि कानूनको उपायको प्रयोग ग¥यो । दोष टोल विकास संस्थाको हो, जसले महसुल तिर्ने उपायको तयारी नै नगरी व्यर्थको खर्च गरी सडक बत्ति जडान ग¥यो ।
अहिले सिसी क्यामराको हालत त्यही छ ।

‘सिसी क्यामराले तपाईको निगरानी गरिरहेको छ’ भनेर व्यभिचारीहरुलाई तर्साउन मात्र प्रयोग भएका छन्, अहिले गोरखा बजारका सिसी क्यामरा । तर सिसी क्यामराले कसैको निगरानी गरेको छैन । किनभने अहिले कुनै पनि क्यामरा चालु छैनन् । कुनै बिग्रिएका र कुनैमा लाइन काटिएकाले सिसी क्यामरा देखाउनका लागि मात्र भएका छन् ।

केही बर्षअघि गोरखा बजार तथा बाह्रकिलोसम्मका सबै बजारमा सिसी क्यामरा राखियो अनि तामझाम गरेर उद्घाटन पनि गरियो । समारोहमा भिआईपीहरुको ‘वक्तृत्वकला सो’ गरियो । तर तीनबर्ष पनि राम्ररी नबित्दै सिसी क्यामरा बेकम्मा भए । अहिले त्यसलाई पुनर्जीवन दिन कसैले गम्भीरता देखाएका छैनन् ।

यतिबेला जनमनमा सवाल छ कि, सामुदायिक सेवाकेन्द्रले तीनबर्ष पनि नटिक्ने कस्तो क्यामरा प्रयोग ग¥यो ? दोस्रो सवाल छ, दुई महिनादेखि सिसी क्यामरा बेकम्मा हुँदा अपराधिका घटना दिनानुदिन अपराधका घटना बढिरहेका छन् । यसलाई पुनजीवन दिने काममा किन ढिलासुस्ती भइरहेको छ ?

प्रतिक्रिया दिनुहोस्