
कार्यक्रम तथा बजेट हुने तर कार्यान्वयन नहुने समस्या
यसै नेपाल गरिब छ, गरिब हुँदाहुँदै पनि बिनियोजित बजेट पनि पूरै खर्च हुँदैन । यो दुखद छ । बर्षेनी बिनियोजित बजेट थोरै प्रतिशत खर्च हुन्छ । खर्च भएकोमा पनि भ्रष्टाचार हुन्छ । धेरै प्रतिशत फिर्ता हुन्छ । नेता तथा कर्मचारीमा बजेट खर्च गर्ने क्षमता कम हुँदा यस्तो समस्या देखिएको हो ।
यसबर्ष पनि आउँदो आर्थिक बर्षका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले बजेट बिनियोजन गरेको छ । बजेट तथा कार्यक्रममा गोरखाका धेरै शीर्षकहरु समेटिएका छन् । असार १ गते मात्र सार्वजनिक गरिएको गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गोरखालगायत हिमाली क्षेत्रमा स्याउ उत्पादनमा अभिवृद्धि गरी स्याउ आयातलाई प्रतिस्थापन गर्ने कार्यक्रमका लागि १७ करोड ५० लाख विनियोजन गरेको छ ।
एक स्थानीय तह एक पर्यटन पदमार्ग कार्यक्रमअन्तर्गत गोरखा नगरपालिका १४ को हटियादेखि बूढीकोटसम्म पदमार्ग निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरेको छ ।त्यस्तै रिडीदेखि लिगलिगकोटसम्म गण्डकी टेूल निर्माण गर्ने कार्यक्रम पनि सुरुवात गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ ।
गोरखाको लिगलिगकोटलाई प्रदेशस्तरकै पर्यटकीय स्थल बनाउने कार्यक्रम पनि यसपटकको बजेटमा संलग्न छ । त्यस्तै पालुङ्टार, घ्याल्चोकटार, पिपलटारका नदी किनारका फाँटमा सतह, लिफ्ट तथा भूमिगत जलस्रोतको प्रयोग गरी बर्षैभरि सिँचाइ सेवा प्रदान गर्ने कार्यक्रम पनि यसबर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । गोरखा अस्पतालमा डाइलासिस सेवा सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गर्ने घोषणा गरेको छ ।
गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सडक सञ्जालसित जोड्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । त्यस्तै आरुघाट हुँदै तिब्बतको रुइला जोड्ने सडकको बाँकी खण्ड निर्माणको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरेको छ । बजेट बिनियोजन हुनु सुखद भए पनि खर्च हुन नसक्नु दुखद हो । त्यसैले जनप्रतिनिधि तथा कर्मचारीमा खर्च गर्न सक्ने सशक्तिकरण बढाउनु पर्छ ।




