
हामी त जंगलको सिंह हौँ, मागेर घाँस खाने खोरका भेडा होइनौँ !
अस्मिता थापा मगर :
म एउटा आदिबासी किसानकी छोरी असारकोे रोपाई छोडेर आफ्नो पहिचान र अधिकारको लागि चोकमा उभिन पुगेको थिए बन्दकर्ताको रुपमा । त्यहाँ २र४ जना आदिवासी अगुवाहरुको कुरा सुने अनि २र४ जना साथिहरुको पनि,एकछिन चोकमा उभिएर बन्दको समर्थन गरे र घरतिर लागे बाटोमा एकजना अधबैसे मानिस बैशाखी टेकेर पानी परेको बेला कष्टकर यात्रा गरिरहेका थिए,अनि बन्द गर्नेलाई के के होस् पनि भन्न भ्याएका थिए । ती दाइको कुरा सुनेर मन अमिलो भयो,अनि सोचे बन्द त हामीले हाम्रो लागि गर्यौ हामीले नै दुख पायौ ।
म भर्खरै बन्दको सर्मथन गरेर फर्किदै गरेको मान्छे ती दाइलाइ हेरेर हासे ती दाईपनि आदिबासी समुदायकै रहेछन् तर सम्झाउन सकिन कि यो बन्द तपाई हाम्रै लागि गरिएको हो भनेर । यस्ता धेरै कुराहरू छन् बन्द मन नपर्ने,त्यसैले म आफैले गरेको बन्दको बिरोध आफैले गररे केहि आफ्ना कुरा लेखे सामाजिक संजालमा, समय सान्दर्भिक लेख भएकाले केहि संचारमाध्यममा आए । त्यस लगत्तै बिभिन्न टिका टिप्पणीहरु आउन थाले । धेरै अगुवाहरुले मेरो बिचारलाई पहिचान बिरोधी भनेर बुझ्नुभएछ । तर बास्तवमा मैले पहिचानको बिरोध गरेको छैन । मैले प्रष्टैसंग भनेको छु र म फेरि दोहोर्याउन चाहान्छु “यहाँ तपाई जस्तै म पनि चाहान्छु, गुरुङ, मगर, तमु लगायत आदिबासीहरुको ऐतिहासिक पृष्ठभूमि र बाहुल्यता भएको यस प्रदेश नं ४ को नाम तमुवान–मगरात प्रदेश होस् ” तर यसो भएन र हाम्रो जनभावना बिपरित प्रदेशको नामाकरण गरियो ।
यो कसरी भयो त ? हामीले छानेर पठाएका अधिकांस हाम्रा प्रतिनिधि त हाम्रै समुदायका छन् खै त उनीहरुको भूमिका प्रदेशको नामाकरणमा ?
कि उहाँहरु फस्नु भो त चुच्चा नाकको चिल्ला कुरामा ?
हामी दिनभरी नाकको लडाई लड्छौ र बेलुकी बिर्सन्छौ,अनि भोलिको बिहान हामी फेरि संघर्ष नै गरिरहेका हुन्छौ नाककै निमित्त ।
बन्द कसैले पनि रहरमा गर्दैन र यो रहरको बन्द पनि थिएन,यो कुरा हामीले कति बुझ्यौ कति बुझेनौ । तर मैले यसरी नै बुझे कि बन्दले हाम्रो पहिँचानप्रति मानिसहरुको नकारात्मक भाबना ल्याउनेछन ,हामीलाई नकारात्मक बुझ्नेछन,अन्य समुदायमा गलत सन्देश जान सक्छ । यही हिसाबले मैले हिजोको बन्दको बिरोध गरे, मैले यदि कुनैपनि हिसाबमा गलत बोलेको भए मलाइ क्षमा गर्नुहोस, तर म तपाईले सोचेझै पहिचान बिरोधी एक होईन, दुइ होइन, तीन होईन ।। म एउटा आदिबासी जनजाति समुदायकी चेली म कसरी बिरोध गर्न सक्छु मेरो आफ्नै आमाले सिकाएको संस्कार र संस्कृतिको ?
म कसरी अछुतो रहन सक्छु मेरो बाबाले दिएको ज्ञान र चेतनाबाट ?
म भित्र भएको हरेक भाबना हाम्रा पुर्खाको इतिहासबाट उत्पन्न छ भने म कसरी बिरोधी हुन सक्छु मेरो आफ्नै भावना र पहिँचानको ?
धेरथोर मैले पनि बुझेको छु हाम्रो इतिहास,आदिबासी जनजातिको इतिहास,कसरी हामी हेपीयौ? को को बाट हेपीयौ? कसरी अधिकार खोसियो? कसरी हराउन खोजियो हाम्रो पहिचान ? इतिहासको कुन कुन कालखण्ड पार गर्दै हाम्रा पुर्खाले हामीलाई यहाँसम्म डोर्याए,अब हामी आफै आफ्नो लागि लड्दा कम्तीमा देश र देशका जनताले दुख नपाउन् भन्ने मात्रै मेरो मनासय हो ।
सायद हामी बुझेर बोल्ने कम भयौ,या मैले केहि नबुझी लेखे तर जे जे भयो यो ठिक भएन किनभने मैले यहाँ नितान्त आफ्नो ब्यत्तिगत बिचार पोखेको हुँ । जरुरी यो थिएन कि तपाईको र मेरो बिचारको सत प्रतिशत मेल होस् । मैले भेडा नबनौ भन्नु नै गलत हो भन्ने मलाई लाग्दैन किनभने हामी त जंगलको सिंह हौ मागेर घाँस खाने खोरका भेडा होइनौँ ।
र,अन्यमा फेरि पनि भन्छु,
मनमा बन्द कहिल्यै बसेको थिएन, र बस्दैन पनि बन्दले हाम्रो मानसिकता खराब बनाईदिएको छ . खराब पनि किन नबनाओस् कि बन्द कुनैपनि हालतमा असल बिकल्प होइन ।
बरु आउनुहोस् हामी आदिबासी जनजाति सबै जो तमुवान–मगरात राज्य चाहान्छौ प्रदेश चाहान्छौ हामी सबै आजैबाट प्रदेश सभा अगाडि अनसन बसौ, शान्तिपूर्ण दबाब दिऔँ,नैतिक आन्दोलन गरौँ । भाषा, संस्कृति, पहिँचान जोगाईराखौ, अधिकार र कर्तब्यप्रति सबै एकजुट होऔँ ।।




