| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल र भारतको द्विपक्षीय परियोजनामा दुबै देशका प्रधानमन्त्रीस्तरमा छलफल हुने


भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा द्विपक्षीय परियोजनाका बिषयमा छलफल हुने बताएको छ।
मन्त्रालयका सचिव विनयमोहन क्वात्राले शुक्रबार नयाँदिल्लीमा पत्रकार सम्मेलन गरेर दुई देशबीचका विभिन्न परियोजनाहरुमा दुबै देशका प्रधानमन्त्रीले चर्चा गर्ने जानकारी दिएका हुन्।

नेपाल र भारत सम्बन्धको सम्पूर्ण दायरा फराकिलो रहेको भन्दै सचिव क्वात्राले लुम्बिनी भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच विविध विषयमा वार्ता हुने बताए। गत चैतमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्झौता भएका कनेक्टिभिटी, जलविद्युत परियोजनासम्बन्त्री सहयोगसहित समग्र द्विपक्षीय एजेण्डाहरुमा लुम्बिनीमा छलफल हुने उनले जानकारी दिए।

नेपालको जलविद्युत परियोजना महत्त्वपूर्ण रहेको र भारतले नेपालमा जलविद्युतमा लगानी गरेको उनले बताए। जलविद्युत परियोजनामा सहकार्य विशाल रहेको र यसमा दुवै देशबीच वार्ता भइरहेको सचिव क्वात्राले उल्लेख गरे। यी सबै विषयमा दुबै प्रधानमन्त्रीले बोल्ने उनले बताए।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउँदैछन्। लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनदेखि भारतले बनाउने बौद्ध विहार शिलान्यासको धार्मिक कार्यक्रमका साथै प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय भेटवार्ता तथा संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ। प्रधानमन्त्री देउवाले केही दिनअघि पश्चिम सेती परियोजना भारतलाई दिने सार्वजनिक अभिव्यक्ति दिइसकेको र आज भारतीय विदेश मन्त्रालयले जलविद्युतको एजेण्डामा दुबै प्रधानमन्त्रीले बोल्ने भनेको अवस्थामा हाइड्रोपावरको विषय प्राथमिकताका उठ्ने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्