| सोमवार, कार्तिक २३, २०८३

दिर्घकालिन योजनालाई प्राथमिकता देउ

झिलिमिली बजार बनाउने योजनाका साथ गोरखा नगरपालिका वडा नम्बर ११ को तेहूकिलोमा सडक बत्ती जडान गरियो । रातको समयमा नियमित उज्यालो हुने भएपछि स्थानीय खुसी भए । हिँडडुल गर्न सहज हुने, चोरीको घटना न्यूनिकरण हुने, यात्रा गर्नेहरुलाईलाई सजिलो हुने, डर त्रास कम हुने आशाले स्थानीय खुसी भए । तर यो खुसी दुई वर्ष पनि टिकेन ।

कारण तेहूकिलो क्षेत्र आसपासको बिजुली अहिले बल्न छाडेको छ । विद्युत महशुल नतिरेको कारण नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले लाईन काटिदिएपछि अहिले विद्युत अवरुद्ध छ । लाईन काटिएको तीन महिना पुग्न लाग्यो । अहिले सम्म बत्ती जडानको सुरसार छैन । ८० हजार छ सय ६७ रुपैयाँ सडक बत्तीको बक्यौता रहेको वितरण केन्द्र गोरखाले जनाएको छ ।

वडा कार्यालयको सहयोगमा जडान भएको सडक बत्तीको महशुल कसले तिर्ने भन्ने यकिन नहुँदा र नियमित महशुस भक्तानी नगर्दा यो समस्या आएको हो । विद्युत जडान गर्दा मै कसले महशुल तिर्ने, कसरी ब्यवस्थित गर्ने भन्ने योजना वडा कार्यालयले बनाउनुपथ्र्यो । तर त्यस्तो हुन सकेन । वडा भित्र टोल बिकास संस्थाहरु पनि सक्रिय छन् ।

टोल बिकास संस्थालाई सडक बत्तीको जिम्मा दिन पनि सकिन्थ्यो ।
वडा कार्यालय आफुले नियमित महशुल तिर्न नसक्ने हो भने नगरपालिकालाई योजना संचालन गर्नु अघि नै जानकारी गराउने, महशुल तिर्ने ब्यवस्था मिलाउनुपथ्र्यो । बिगतमा लामो समय सम्म गोरखा नगरपालिकाले सडक तथा सार्वजनीक स्थानमा जडान भएको बत्तीको महशुल नतिर्दा बक्यौता अहिले पनि कायम छ । जनतालाई सहज सेवा दिने, उनीहरुको सजिलोका लागि सडक बत्ती वा सार्वजनीक स्थानमा जडान गरिने बत्तीको महशुल कसरी तिर्ने भन्ने योजना पहिल्यै बनाउनुपर्छ ।

कार्यक्रम मात्र बनाउने तर योजना नबनाउने हो भने सार्वजनीक स्थलमा जडान गरिएका बत्तीबाट सर्वसाधारणले सँधै लाभ पाउन सक्दैनन् । अर्को तर्फ दिर्घकालीन रुपमा योजना सञ्चालन गर्न पनि सकिँदैन । त्यसैले यस्ता योजना लोकप्रियताका लागि भन्दा पनि दिर्घकालिन महत्व राख्ने गरी, समस्या नआउने गरी संचालन गर्न तर्फ ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्