
गठबन्धन गर या नगर, उम्मेद्वार टुंगो लगाऊ
अदालतबाट फरक फैसला यदि नभएमा स्थानीय तहको सरकार भनेर चिनिने जनप्रतिनिधि चुन्न आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ । त्यसपछि यसअघि पाँचबर्षसम्म कार्यकाल विताएका जनप्रतिनिधिहरु बाहिरिनेछन् र नयाँ जनप्रतिनिधिहरु पदासीन हुनेछन् ।
नयाँ जनप्रतिनिधिले नयाँ ढंगले गाउँ तथा नगरपालिका हाँक्नेछन् । अर्थात पुरानै जनप्रतिनिधि दोहोरिए भने यसअघिको भन्दा परिपक्क ढंगले पालिकाको वाग्डोर सम्हाल्नेछन् ।
तर चुनाव आउन जम्मा २३ दिन बाँकी छ, तर अझै उम्मेद्वार को हो एकिन भएको छैन । उम्मेद्वारै यकिन नभएपछि चुनाव प्रचारप्रसार कसका लागि गर्ने ? त्यसैले गाउँठाउँमा चुनाव अझै आएको छैन ।
नेपाली कांग्रेस र नेकपा एमालेले आकांक्षीहरुको नामावली संकलन गरिसकेका छन् । तर अर्को प्रमुख शक्ति नेकपा माओवादी केन्द्रले अझै संकलन गरिसकेको छैन ।
उम्मेद्वार छनौट गर्नुभन्दा अघि कुन कुन पालिकामा कुन कुन पार्टीले उम्मेद्वार उठाउने भन्ने निश्चित भइसक्नु पर्ने थियो, त्यही काम पूरा भएको छैन । पाँच पटक भन्दा धेरै बैठक बसिसकेको छ, अझै पनि कुन पार्टीले कतिवटा पालिकाको नेतृत् वगर्ने भन्ने निश्चित छैन । त्यसपछि कुन पार्टीले कुन कुन पालिकाको नेतृत्व गर्न पाउने भन्ने पनि निर्णय हुन बाँकी नै छ । त्यतिले पनि पुगेन । कुन पार्टीले कति वटा वडा पाउने ? ती वडा कुन कुन हुन् भनेर पनि छुट्याउन बाँकी नै छ ।
त्यतिले मात्र पनि पुगेको छैन । भागबण्डा भइसकेपछि कुन पालिकाको प्रमुख, उपप्रमुखमा कसलाई उम्मेद्वार उठाउने ? कुन वडामा कसलाई उम्मेद्वार बनाउने भन्ने पनि निर्णय गर्नैछ । काम धेरै छ तर दलहरु तिब्र छलफलमा छैनन् ।
त्यसैले गठबन्धन गर वा नगर, उम्मेद्वार चयन गर्ने काम छिटै गर ।




