
होटल, रिसोर्ट खुल्नु पर्यटन विकासको सकारात्मक संकेत
धन्नै सुन्यमा पुगेको पर्यटन व्यवसाय कोभिड महामारी हराउँदै गएपछि पुनः तङ्ग्रिन थालेको छ । गोरखामा अहिले देशी तथा विदेशी पर्यटक आउन थालिसकेका छन् । विशेषगरी पर्यटकीय स्थल मनास्लु क्षेत्रमा विदेशी पर्यटकको भीड लाग्न थालेको छ ।
लार्केपास तथा मनास्लु आरोहण, नुब्री उपत्यका तथा चुम उपत्यका भ्रमणका लागि उनीहरु आएका हुन् ।
त्यसैगरी गोरखा सदरमुकाम, मनकामना तथा लिगलिगकोटमा पनि आन्तरिक र वाह्य पर्यटकको दिनहूँ भीड लाग्न थालेको छ । गोरखा दरबार, गोरखकाली, गोरखनाथ मन्दिर, गोरखा संग्रहालय अवलोकनका लागि पर्यटक गोरखा आउने गर्छन् । त्यस्तै ऐतिहासिक लिगलिगकोट अवलोकन तथा कोटबाट आसपासका सुन्दर दृश्यावलोकनका लागि पर्यटकको भीड लाग्छ ।
सबैभन्दा धेरै मनकामनामा धार्मिक पर्यटकको भीड लाग्छ । यहाँ दैनिक पाँच हजार जना भन्दा धेरै धार्मिक पर्यटक आउँछन् ।
पर्यटकको चहलपहल बढ्न थालेपछि गोरखामा होटल, रेस्टुरेण्ट, रिसोर्ट खुल्ने क्रम पनि बढ्न थालेको छ । सबैभन्दा उच्चस्तरको गोरखा गार्डेन होटल यही बर्षदेखि सञ्चालनमा आएको छ । स्तरीय सुविधासहित सञ्चालनमा आएको यो होटल गोरखाको प्रतिष्ठाको रुपमा रहेको छ ।
त्यस्तै हाइवे क्षेत्रको च्याङ्लीमा हालसालै म्याङ्गो रिसोर्ट हालसालै सञ्चालनमा आएको छ । चारकरोड लागतमा नयाँबर्षदेखि रिसोर्ट सञ्चालनमा आएको छ । हाइवेबाट पारि, ध्वनि तथा वायु प्रदुषण नभएको ठाउँमा रिसोर्ट सञ्चालनमा छ । रिसोर्टका कारण रिसोर्टका सञ्चालकलाई मात्र नभै आसपासका क्षेत्रमा बसोबास गर्नेले समेत आर्थिक लाभ उठाउन सक्छन् भन्ने अपेक्षा छ ।
गोरखामा स्तरीय होटल, रिसोर्ट खुल्न थालेपछि जिल्लाको पनि पर्यटन विकास हुने अपेक्षा गर्न सकिन्छ । जिल्लामा पर्यटन विकास गर्ने लक्ष्यका साथ स्थापित होटल रिसोर्टलाई अहित हुने गरी कुनै गतिविधि गर्नु हुँदैन ।




