
सर्वसाधारणको भोट तान्न मिहिनेत गर
स्थानीय तहको निर्वाचन आउन अब ३२ दिन बाँकी छ । कुनै आश्चर्य भएन भने वैशाख ३० गते मतदान कार्यक्रम हुनेछ ।
सरकार गठबन्धनका पाँच दल आउँदो चुनावमा तालमेल गरेर चुनाव लड्दैछन् । गठबन्धन दलले तालमेल गरेपछि साझा उम्मेद्वारले जित्ने निश्चित गरिरहेका छन् । तर गठबन्धन दल बीच सुमधुर सम्बन्ध अझै कायम भएको छैन । गठबन्धनको बन्धन कुन दिन, कुन विन्दूमा पुगेर खुस्केला कुनै निश्चित छैन ।
तालमेल गरेपछि निश्चित रुपमा जितिन्छ भनेर पार्टीहरुले जबर्जस्त उम्मेद्वार छनौट नगरुन् । किनभने अहिले मतदाताहरु भोट हाल्न जालान्, नजालान्, गए पनि तालमेलावालालाई हाल्लान् वा नहाल्लान् कुनै निश्चित छैन । ‘हँसिया हथौडामा त ज्यान गए पनि भोट हालिन्न’ भन्ने कांग्रेसजनको कमी छैन ।
‘रुखमा भोट हाल्नुपर्छ भने त भोट हाल्नै गइन्न’ भन्ने माओवादी, जसपाहरुको संख्या पनि उत्तिकै छ ।
अघिल्लो पटकको चुनावमा कांग्रेस र नयाँशक्ति बीचको तालमेलमा मतदाताले इमान्दारिता पूरा गरे कि गरेनन्, विश्वास छैन । तालमेल गरे पनि कैयौं नयाँशक्तिका मतदाताले हँसिया हथौडामा भोट हालेका थिए । कैयौँ कांग्रेसजनले मतदानमा भाग नलिएको, लोकलाजले भोट हाल्न गए पनि अरु नै चिन्हमा भोट हालेका उदाहरण प्रसस्त छन् ।
गोरखा जनयुद्धको चर्कै रापमा परेको जिल्ला भएकाले यहाँका दुवै पक्ष सफेद छैनन् ।
त्यसमाथि पनि अहिलेका उम्मेद्वार व्यक्ति र व्यक्तित्व छान्न पनि सक्षम छन् । पार्टीका कार्यकर्ताले त जसोतसो आफ्नै पार्टीका नेतालाई भोट हाल्छन्, तर सर्वसाधारणको अभिमत संकलन गर्दा प्रायले निम्नस्तरका जनतालाई हेर्ने उम्मेद्वारलाई भोट हाल्ने भनेका छन् ।
उनीहरुको भोट नै निर्णायक भोट हुन्छ, त्यसैले सर्वसाधारणको विश्वास जितेर उनीहरुको भोट तान्न सक्नुपर्छ ।




