| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखा जाने बाटो सुरक्षित बनाऊ

गोरखाको सुदूर उत्तरी गाउँबस्ती जाने बाटो बर्खा लागेपछि धेरै असुरक्षित भएको छ । बुढीगण्डकी किनारै किनार भएर जाने बाटोमा पहिरो खस्ने, ढुंगा खस्ने भएर समस्याग्रस्त भएको स्थानीयबासी बताउँछन् ।
साबिकका काशिगाउँ, केरौंजा, उहिया, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ सडक सञ्जालले नजोडिएका गाविसहरु हुन् । यी गाउँमा सदरमुकामबाट हिडेर जान पनि असम्भवप्राय छ ।
एउटै जिल्ला, कहीं बाह्रै महिना मोटर कुद्ने, कहीँ हिउँदमा मात्र भए पनि मोटर कुद्ने तर कहीं पैदल हिड्न समेत भगवानको नाम पुकारेर हिड्नु पर्ने अबस्था छ । त्यसैले यो अबस्थाको अन्त्य गर्नुपर्छ । विशेष ः सेनाले सडक निर्माण गरिरहेकाले पनि ढुंगा खस्ने समस्या बढेको हो । बिगतमा पनि पहिरो खस्ने, ढुंगा खस्ने त भइरहन्थ्यो, तर यो बर्ष अलिक बढि नै भएको छ ।
धेरै माथिदेखि गुड्दै आएको सानो ढुंगा किन नहोस, लाग्यो भने ज्यानै जान सक्छ । तसर्थ ढुंगा खस्न नदिने उपायहरु हुनसक्छन् । तारजालीको प्रयोग गरी ढुंगाखस्नबाट बच्न सक्ने उदाहरण चितवन सडकमा देखिएको छ ।
सडक नै दिन नसकेपनि कम्तीमा सुरक्षित पैदल यात्रा गर्ने वातावरण मिलाइदिनु पर्ने देखिन्छ । सरकारी योजनालाई साकार बनाउन जिल्लामा अझै पनि एनजीओहरु ज्यूँदा, जाग्दा छन् । उनीहरुको सहायता लिएर भए पनि बाटो सुरक्षित बनाउने काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्