| सोमवार, कार्तिक २३, २०८३

जातीय विभेदमुक्त अभियानमा साथ र सहयोग गरौँ

अत्यन्त खरो विश्लेषक भनेर चिनिएका कुन्साङ काका(खगेन्द्र संग्रौला)ले आद्यात्मिक पण्डित नारायण पोखरेलको आलोचना गर्दैनथे, उल्टै प्रशंसा गर्थे । एक प्रखर भौतिकवादी चिन्तकले विश्व हिन्दू महासंघका अध्यक्ष समेत रहेका पण्डित पोखरेलको प्रशंसा गर्नुको कारण यो थियो कि, पोखरेल जातीय विभेदमुक्त समाजको पक्षपाती थिए ।

उनी खरो स्वरमा भन्ने गर्थे, ‘जातभात भन्ने कुरा धर्मशास्त्रमा कहीँ छैन, फगत कुनै सम्राटले समाज विभाजन खातिर निर्माण गरेको कडी हो ।’ उनले दलित समुदायले लगाइदिएको टीका पनि थापे, दलितले बाँडेको प्रसाद पनि ग्रहण गरे ।

पिताकै सिद्धान्त, पिताकै परिकल्पनालाई साकार रुप दिँदै उनका पुत्र अर्का प्रखर पण्डित दीनबन्धु पोखरेलले अहिले जातीय विभेदमुक्त समाज निर्माण अभियान सुरु गरेका छन् । अभियानको थालनीस्वरुप शुक्रबार उनकै जन्मस्थान बगुवामा एक यस्तो यज्ञ गरियो, जहाँ दलित, जनजाति र ब्राह्मण समुदायका मिश्रित कर्ता बसेर सामुहिक पूजाआजा गरियो । एक दिवसीय पुराण वाचन पनि गरियो ।

ठूला धार्मिक चिन्तक, स्वामी तहका धर्म पुरुषको प्रवचन सुन्ने हो भने उनीहरुले पटक पटक भन्छन्, जातीय विभेद कुनै धर्मशास्त्रमा छैन । कुनै पनि धर्मले जातीय विभेद गर भन्दैन । केवल कुनै समयका शासकले फुटाएर शासन गर्ने स्वार्थले जातजाति, उचनिचको सिद्धान्त प्रतिपादन गरेका हुन् । राजाले जाहे कथित ठूला जातिको जात काडेर कथित सानो जाति बनाउन सक्नु, राजाले चाहे भने कथित साना जातिलाई कथित ठूला जाति बनाउन सक्नु पछाडिको कारण के हो ? जात निर्माता धर्म(देवता) कि राजा ?

त्यसैले वर्तमान शिक्षित समुदाय, वर्तमान सभ्य समाज, एक्काइसौँ सदिको आधुनिक युगले अब सम्राटले सदियौँ अघि निर्माण गरेको जातीय तह भत्काउनै पर्छ । पण्डितले नै जुन अभियान सुरु गरेका छन्, त्यसलाई सबैको साथ र सहयोगको खाँचो पर्दछ ।

प्रतिक्रिया दिनुहोस्