| सोमवार, कार्तिक २३, २०८३

राजनीतिमा पैसावालको सवाल

अहिले गोरखामा कांग्रेस र राप्रपाको जिल्ला अधिवेशन सकिएको छ । एमालेको अधिवेशन चलिरहेको छ । माओवादीको अधिवेशनको तयारी हुँदैछ । अरु पार्टीभन्दा जब गोरखामा कांग्रेसको अधिवेशनको समय आउँछ अनि पैसा र पैसावालको सवालले चर्चा पाउने गर्छ । गोरखाका केही कांग्रेस नेताहरु आर्थिक रुपमा सम्पन्न छन् । उनीहरुप्रति लक्षित गरी अन्य नेता कार्यकर्ताले प्राय सँधैको अधिवेशनमा छेडखानी गर्छन् ।
गोरखा कांग्रेसमा दुई खालका पैसावाल छन् ।
पहिलो ः अरु बेला मिहिनेत गरी व्यापार, व्यवसाय गरेर राम्रै आर्थिक आम्दानी गर्छन् । जब पार्टीको कार्यक्रम वा विभिन्न गतिविधि हुन्छ, तन, मन, धन दिएर पार्टीको सेवा गर्छन् ।


दोस्रो ः ५१ हप्तासम्म व्यापार, व्यवसाय गर्छन् । पार्टीको अधिवेशनका बेला देखा पर्छन् । पैसाको खोलो बगाउँछन् । भोज, भतेर गर्छन् । दूर दराजबाट आएकालाई बाटोखर्च वा बस्ने खाने खर्चको नाममा पैसा दिएर भोट किन्छन् र जित्छन् । पैसावाल नेता भनेर आलोचना गर्नेले यो बुझ्नु जरुरी छ कि, माथि उल्लिखित दुवैखाले नेतालाई एउटै डालोमा हाल्नु हुदैन । किनभने मिहिनेत गरेर पैसा कमाउनु अपराध होइन । पार्टीलाई बदनाम र दुरुपयोग गरी पैसा कसरी कमाएको रहेछ भने औँला उठाउनु पर्छ । अन्यथा पैसावाल भएकै कारण आत्मसम्मानमाथि आक्रमण गर्नुहुदैन ।


पहिलो खालका नेता कांग्रेस मात्र होइन, जुनसुकै पार्टीलाई खाँचो पर्छ । खाँचो पर्ने मात्र होइन, जुनसुकै पार्टीमा पनि यस्ता नेता हुन्छन् । जुनसुकै अबस्थामा पार्टीलाई यस्ता नेताको खाँचो पर्ने हुँदा उनीहरुप्रति उचित सम्मान गर्नु नै पर्छ ।
पार्टीलाई नचाहिने र नसुहाउने माथि उल्लिखितमध्य दोस्रो खाले पैसावाल नेता हो । कार्यकर्ताले आलोचना यदि गर्ने हो भने उनीहरुप्रति लक्षित हुनुपर्छ ।

उनीहरुलाई आलोचना गर्ने होइन बरु नेताको स्थान नदिई कार्यकर्ताको स्थानमा ससम्मान राख्नुपर्छ । यदि दोस्रो खालकालाई नेता बनाउने हो भने पार्टीमा तन, मन र जीवन दिएका तर धन दिन नसकेका त्यागी नेताले कहिल्यै स्थान पाउँदैनन् । यसप्रति पार्टी पंक्ति सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्