| सोमवार, कार्तिक २३, २०८३

बजेट खर्च गर्न नसक्नु असक्षमता

कतिपय तर्क गर्छन्, नेपाल गरीब भएको पैसा नभएर होइन ।
उनीहरुको विश्लेषण सुन्ने हो भने गरीब हुनुको मूल कारण इच्छाशक्ति, क्षमता, दक्षता नभएर हो ।
त्यसमा धेरै अरु कारण जोड्दै जान सकिन्छ । सद्आचरण नभएर, भ्रष्ट आचरण भएर, स्वार्थले पूर्ण भएर, अरुको गोटी भएर, सिर्जनतात्मकता, रचनात्मकता नभएर इत्यादि ।
हाम्रो जस्तो सानो जिल्लामा बल्लतल्ल आएको सानो आकारको बजेटमा पनि करोडौँ फिर्ता जानु दुखद कुरा हो । एउटा व्यक्तिको असक्षमताका कारण जिल्लाको विकासमा दूरगामी असर पर्नु कम्ति दुर्भाग्य होइन ।
बजेट तथा कार्यक्रम पार्न नेता, जनप्रतिनिधि, मन्त्रीले मात्र होइन, कार्यालय प्रमुखलेसमेत तिघ्रामा घ्यू घस्नुपर्छ । रातोदिन गृहकार्य गरेर प्राप्त बजेट तथा कार्यक्रमको बजेट फ्रिज गर्नु दुर्भाग्य हो । जिल्लाकै लागि, सबैका लागि दुखद हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गोरखामा रहेको धान जोन, सुन्तला तथा फलफूल जोन, तरकारी जोन कार्यालयले गतबर्षको बजेटमध्य दुई करोड रुपैयाँ फिर्ता गरेको छ ।
छ करोड ९१ लाख ३३ हजार रुपैयाँमध्य चारकरोड ८६ लाख ६५ हजार रुपैयाँ मात्र खर्च गरेको छ । बजेट फिर्ता जानुको दोष त अहिले कोरोनलाई दिएपछि हाइसञ्चो भइहाल्छ ।
यसभन्दा अघिल्लोबर्ष पनि कोभिड महामारी थियो तर कृषि ज्ञानकेन्द्र लगायतका कार्यालयले सबै बजेट तथा कार्यक्रम सम्पन्न गरेका थिए । गत आर्थिक बर्षमा पनि प्राय कार्यालयहरुले सन्तोषजनक खर्च गरेका छन् । कोभिड त सबै कार्यालयको कार्यक्षेत्रमा विद्यमान थियो र छ पनि । कुनै कार्यालयले खर्च गर्न सक्ने, कुनै कार्यालयले नसक्नुमा तेस्रो पक्ष दोषी हुदैन । तसर्थ जिल्लाका लागि, लाभग्राहीका लागि प्राप्त बजेट कार्यक्रम फिर्ता गर्नु दुर्भाग्यपूर्ण हो ।

प्रतिक्रिया दिनुहोस्