दोषीले दण्ड पाओस्, पीडितले क्षतिपूर्ति
धार्चे गाउँपालिका ६ काशिगाउँका बोक्सी मुद्धाका पीडित मीनकुमारी गुरुङ, सूचना गुरुङ र उनीहरुकी आमा काली गुरुङले अझै न्यायको अनुभूति गर्न पाएका छैनन् । गोरखा जिल्ला अदालतबाट पीडितका पक्षमा मुद्धा फैसला भएको चार महिना बितिसक्दा पनि उनीहरुले न्यायको प्रत्याभूति नपाएका हुन् ।
स्थानीय भीमबहादुर गुरुङलाई बोक्सी लागेर मारेको भन्दै तीनजनालाई बोक्सी आरोप लगाउने सोही ठाउँका २८ बर्षका रोशन गुरुङविरुद्ध अदालतले छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।
२०७५ साल साउन १० गते तीनजना पीडितमाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने आरोपी ६२ बर्षका कामी गुरुङ, ३९ बर्षकी आइतीमाया गुरुङ, ३१ बर्षकी प्रमिला गुरुङ र २३ बर्षकी मिनु घले फरार रहेको भन्दै अदालतले तीनबर्षदेखि मुद्धा मुल्तवीमा राखेको छ ।
कारबाही फैसला भएका मुख्य प्रतिवादी हाल मलेसियामा छन् । फरार भनेर मुद्धा मुल्तबीमा राखिएका चारजना गाउँमै रहेको स्थानीयबासीको भनाइ छ । कारबाही फैसला भएका मुख्य प्रतिवादीले पाँच हजार तिर्न नसक्ने भनेर अदालतले गाउँपालिकालाई सो जरिबाना रकम तिरिदिन फैसला गरेको छ । केही समयअघि मुख्य प्रतिवादी भने एकलाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका थिए ।
अदालतले तिरिदिन निर्देशन गरे पनि गाउँपालिकाले भने उनले तिर्नुपर्ने जरिबाना तिर्न आनाकानी गरिरहेको छ । गल्ती गर्नेले नै त्यसको कारबाही भोग्नुपर्छ, गाउँपालिकाले किन तिर्ने ? भन्ने गाउँपालिकाको भनाइ छ । धरौटी एकलाख तिर्न सक्नेले जरिबाना पाँच हजार तिर्न सक्दैन ? त्यसमाथि पनि अहिले उनी मलेसियामा रोजगारीमा छन् । गाउँपालिकालाई दण्डित गर्नु हुदैन भन्ने गाउँपालिकाका प्रमुखको धारणा छ ।
जसले तिरे पनि पीडितले क्षतिपूर्ति पाउनु पर्छ, दोषील दण्ड पाउनु पर्छ ।




