धार्चेमा एकलाख रुपैयाँको पुरस्कारले पनि तानेन कर्मचारीलाई
कर्मचारीलाई गाउँपालिकामै बसेर राम्ररी काम गर्न आकर्षण गर्न धार्चे गाउँपालिकाले एकलाख रुपैयाँको पुरस्कारराशी स्थापना ग¥यो । गतबर्ष गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले सो पुरस्कार हात पारे ।
पुरस्कार राशी स्थापना गर्नुको उद्देश्य भनेको नै इमान्दर, बफादार, निष्ठावान भएर कर्मचारी गाउँपालिकामै रहेर काम गरुन् भन्ने हो । तर पालिका कार्यालय अहिले कर्मचारीबिहिन भएको छ ।
इमान्दार, बफादार, निष्ठावान भएर काम गर्नु त कता कता, कर्मचारी एक महिनादेखि बेपत्ता छन् । कर्मचारी नहुँदा पालिका कार्यालयका विभिन्न काम काजमा वाधा व्यवधान उत्पन्न भइरहेको छ । भदौ पहिलो हप्ता गर्ने भनिएको कार्यपालिका बैठक नै हुन सकेन । आउँदो १५ गते आयोजना गर्ने भनिएको चौधौँ पुस्तकालय दिवस समारोहको पूर्व तयारी पनि भएको छैन ।
कर्मचारीसामु अहिले गतिलो बहाना छ, निषेधाज्ञा जारी छ । बाटो ठाउँठाउँमा पहिरो गएर जोखिम बनेको छ त्यसैले हाजिरमा जान नसकिएको हो ।
बाटो जोखिम भए पनि जनप्रतिनिधिहरु कैयाँ पटक सो बाटो हिडिसकेका छन् । गाउँपालिका र सदरमुकाम ओहोरदोहोर गरिरहेका छन् । त्यस्तै जारी गरिएको निषेधाज्ञाले परिचय पत्र देखाउने कर्मचारीलाई कहीँ पनि छेकथुन गर्दैन ।
हाल गाउँपालिकामा स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाहरुमा मात्र कर्मचारी छन् । पशु सेवा शाखाका पनि एक कर्मचारी छन् । बाकी सबै एक महिनादेखि गयल छन् ।
दुर्गम ठाउँका बासिन्दाले आफूहरुले जे भने पनि पत्याइहाल्छन् भन्ने कुत्सित भावनाका कारण उनीहरु अहिलेसम्म हाजिरमा नगएका हुन् । पुरस्कारले नतानेका उनीहरुलाई आकर्षण गर्ने अर्को उपाय के हुनसक्छ ?
पालिकामा कर्मचारी नहुँदा धेरै कामहरु प्रभावित भएका छन् । त्यसैले यस्तो अबस्था सिर्जना हुन दिनुहुदैन । उनीहरुलाई सचेत, सजग गराउनु पर्छ ।




