उच्च भेगमा किन जताततै पहिरो ?
यसबर्ष विशेषगरी उच्च पहाडी तथा हिमाली भेगमा समेत भयावह पहिरो झरेको छ । हिमपहिरोले नदी थुनिँदा मस्र्याङ्दी र मेलम्चीमा त्यो विनाशकारी घटना भयो । गोरखाको बूढीगण्डकीमा पनि हिमपहिरोले ल्होको बञ्जेमनेर नदी थुनिएर एक्कासी खोलिँदा सल्लेरी, जगत लगायतका तटीय क्षेत्र तहसनहस भयो ।
दरौँदीको पनि शीरमा जताततै पहिरो झरेको छ । पहिरोले नदी थुनिने र खोलिने गर्दा तटीय क्षेत्रका मोटरेबल पुल बगे । अन्य तटीय क्षेत्रका सम्पदा पनि तहसनहस भएका हुन् ।
चुमनुब्री गाउँपालिका ६ लोक्पानेरको डाँडो बिगत तीन दिनदेखि निरन्तर पहिरो झरिरहेको छ ।
यसपटक किन उच्च भेगमा पहिरो गयो ? विज्ञ, अनुसन्धाताका लागि खोज अनुसन्धानको बिषय बनेको छ ।
बर्षात राम्रो नहुने भएकैले गोरखाको सामागाउँ, साम्दोलगायतका क्षेत्रमा खेतीबाली राम्रो नहुदै आएको हो तर ३३०० मिटर भन्दा उच्च ती क्षेत्रमा पनि यसबर्ष किन यसरी अबिरल बर्षा भयो ? किन हिमपहिरो धेरै गयो ? किन उच्च पहाडहरु खसे ?
सिधासाधा उत्तर हो, जलवायु परिवर्तनको असरले गर्दा हो । विज्ञहरु पनि यसमा सहमत छन् । तर यत्तिका उच्चस्थानमा किन पहिरो गयो ? यो झन बढि खोज्नुपर्ने बिषय हो ।
लामो समय हिउँले ढाक्ने ठाउँमा अप्रत्याशित हिसाबले हिउँ पग्लिएको छ । तिनै ठाउँमा वर्षापछि माटो बगेको छ । माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा भयो भने त्यहाँको भूगोलले थेग्न नसक्ने पुष्टि भएको छ । पानी पर्ने प्रणाली नै बदलिएको छ, हिमक्षेत्रमा के कति पानी परिरहेको छ भन्ने बुझ्नका लागि उच्च भागमा मापन केन्द्रहरू विस्तार गर्नु आवश्यक छ ।
३ हजार मिटरभन्दा उच्च भागमा पहिरोको संख्या र क्षेत्र बढ्नुमा जलवायु परिवर्तनले निम्त्याएको तापक्रम वृद्धि नै मुख्य हुन सक्ने देखिएकाले विस्तृत अध्ययन गर्नुपर्ने छ ।




