| सोमवार, कार्तिक २३, २०८३

सदरमुकाममा आन्तरिक र उत्तरमा विदेशी पर्यटकको मोह

गोरखा पर्यटकको रोजाइमा पर्ने जिल्ला हो । विशेषगरी यहाँको मनास्लु क्षेत्र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै छ । चुमभ्याली र नुब्री भ्यालीको अवलोकन गर्न एशियाली तथा तेस्रो मुलुकदेखिका पर्यटक यहाँ आउँछन् ।
त्यति मात्र नभै विश्वको आठौँ उच्च मनास्लु हिमाल आरोहण गर्न पनि विदेशी पर्यटक गोरखामा आउने गर्छन् ।
गतबर्ष कोभिडकै बीच पनि बहराइनका राजकुमारले मनास्लु आरोहण गरेपछि मनास्लु हिमाल आरोहणको चर्चाले विश्व परिवेशमा सकारात्मक सन्देश प्रवाह गरेको छ । कोभिड महामारी विस्तारै मत्थर हुदै जाँदा आरोहीको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास लिन सकिन्छ ।
शान्ति उपत्यकाको नामले लोकप्रिय बन्दै गएको चुम उपत्यका, म्हु गुम्बा, राजेन गुम्बा, गुम्बा लोङटाङ, मेलारेप्पा गुफा चुमभ्यालीको आकर्षण हुन् ।
नुब्री उपत्यकाको नामले चिनिने मनास्लु उपत्यका, वीरेन्द्र ताल, कालताल, सेराङ गुम्बा, पुङ्गेन गुम्बा, नाम्ला गुम्बा, लार्केपासका लागि पर्यटक यस क्षेत्रमा निक्कै उत्साहपूर्वक आउने गर्छन् ।
त्यस्तै रुपिङ्ला पास, दूधपोखरी, नारदपोखरी क्षेत्रमा पनि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ ।
गोरखनाथ, गोरखकाली, मनकामना मन्दिर, गोरखा दरबार, गोरखा संग्रहालय, लिगलिगकोट अवलोकनका लागि पनि आन्तरिक पर्यटक प्रसस्त आउने गर्छन् ।
सदरमुकाम र आसपासका क्षेत्रमा आन्तरिक पर्यटक र उत्तरतर्फ विदेशी पर्यटक आउने क्रम दिनानुदिन बढिरहेको छ । बिगत दुईबर्ष कोभिडका कारण केही मत्थर भएपनि गोरखामा आन्तरिक र वाह्य पर्यटक आउने क्रम सदा सर्वदा बढिरहने छ ।
गतबर्ष कोभिडको चुनौतिका बीच पनि उत्तरी क्षेत्रमा करिब दुईसय विदेशी पर्यटक भित्रिए । यो सुखद सन्देश हो । कोभिड एक न एक दिन मत्थर भएर जानेछ । अनि त्यस क्षेत्रमा खचाखच विदेशी पर्यटक हुनेछन्, अनि यस क्षेत्रमा आन्तरिक पर्यटक आउने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्