निषेधाज्ञालाई पालना गरौँ
जिल्ला प्रशासन कार्यालय गोरखाले भदौ १ गते राती १२ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि कसैले आवश्यक थियो भनिरहेका छन् त कसैले निषेधाज्ञा हुनु हुँदैनथ्यो भनिरहेका छन् ।
निषेधाज्ञा ठिक÷बेठिक जसरी पनि ब्याख्या गर्न सकिएला । गोरखामा दोस्रो लहर सुरु भए यता संक्रिय संक्रमित दुई सय नपुग्दै कडा लकडाउन गरिएको थियो । कडाई गरेसँगै संक्रमण दर घटेको थियो । अहिले संक्रमितको संख्या नौ सय सम्म पुग्यो । अहिले सिजनल फ्लुको बिरामी बढेका छन् । यस्तो समयमा कोरोना संक्रमण हुने खतरा बढी हुन्छ । अस्पताल भर्ना हुने दर पनि अहिले बढेको छ ।
अर्कोतर्फ गोरखा छिमेकी जिल्लाहरुको तुलनामा मेडिकल सामग्री, संरचना र उपचारमा कमजोर देखिन्छ । संक्रमण दर ब्यापक भयो भने गोरखाले थेग्न सक्ने अवस्था हुँदैन । अहिले बजार, यातायात, सार्वजनीक सेवा सबै खुलमुखल्ला छ । यस्तै कायम रहने हो भने संक्रमणदर बढ्ने निश्चित छ ।
कोरोना बिरुद्धको खोप कार्यक्रम पनि चलिरहेको छ । कोरोना जाँचलाई पनि स्थानीयले तहले तिब्र बनाउनुपर्छ । केही दिनको निषेधाज्ञाले नजिकिँदै गरेको नेपालीको माहन चाड दशैँ, तिहार अघि खुल्ला गर्ने आधार तय हुन सक्छ । यस अघि लामो समय ब्यवशायमा खडेरीको सामना गरेका ब्यापारी, ब्यवशायी, सर्वसाधारणले अहिले केही समय धैर्य गरेर कोरोना बाट मुक्त हुने बाटो अपनाउनु बेस हुन्छ । संक्रमण घट्यो भने सबै क्षेत्र खुल्छ । खुसीका साथ चापडपर्व मनाउन सकिन्छ । चाडपर्वको नाममा कोरोना सार्ने माध्याम भने बन्नु हुँदैन ।
निषेधाज्ञा गर्दा कुनै एउटा क्षेत्रलाई समस्या पार्ने धेयले नजरअन्दाज गरेर गरिएको हुँदैन । तर महामारी बच्न पाउने सर्वसाधारणको अधिकार र राज्यको दायित्व संग यो आश्रीत छ । विश्वका सम्पन्न ठुला देशहरुमा पनि लकडाउनपछि कोभिड १९ नियन्त्रणमा आएको देखिन्छ । उनीहरुले जसरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, खोप सत प्रतिशत लगाउने गरेको भए हामीले पनि लकडाउन गर्नुपर्ने अवस्था आउने थिएन । त्यसैले यो हाम्रो लागि हो भन्ने सबैले बुझ्नुपर्छ । नियम सबैले पालना गर्नुपर्छ ।




