| सोमवार, कार्तिक २३, २०८३

दुर्गममा कादुरीको बिजुली क्रान्ति

१५ बर्षअघि तत्कालीन गुम्दा, उहिया, लापु गाविस(हालको धार्चे)तिर रिपोर्टिङमा जनजीब्रोमा एउटा कथन सुनिन्थ्यो, ‘बैकल्पिक उर्जा लैजा जनताको पुर्जा, कादुरी आऊ बिजुली बनाऊ ।’
जिज्ञासा राख्दा जानकारहरु भन्थे, ‘बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र भन्ने एउटा सरकारी निकाय छ । त्यसले लघुजलविद्युत सञ्चालन गर्न उपभोक्ताहरुको लालपूर्जा संकलन गर्छ । काम भने कछुवा गतिमा गर्छ । सम्पन्न गर्न बर्षौँ लाग्छ । बन्दाबन्दै सम्पन्न हुन नपाई बाढी पहिरोले क्षति गर्दिन्छ । जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा हुन्छ । ब्रिटिश दातृ निकाय भएको एउटा कादुरी भन्ने संस्था छ, त्यसले लघुजलविद्युत बनाउन हात हाल्यो भने एकबर्षभित्रै बनाइदिन्छ ।

बलियो पनि भरपर्दो पनि ।’
कुरा सुन्दा सरकार विरोधी जस्तो(जस्तो पनि लाग्ने, नेपाल सरकारप्रति वितृष्णा जगाउने खालको जस्तो पनि देखिने, विदेशीप्रति स्तुत्य जस्तो पनि देखिने । तर सर्वसाधारणलाई विकास पाए पुग्छ, के स्वदेशी, के विदेशी । उनीहरुले सिद्धान्त बुझ्दैनन्, धरातलमा यथार्थता मात्र देख्छन् ।
कादुरी संस्थाले अहिले पनि उत्तरी गोरखामा विद्युत उत्पादनको काम गरिरहेको छ, झोलुङ्गे पुल निर्माणको काम पनि गरिरहेको छ । भलै भूकम्पका बेला निजी आवास निर्माणको काम पनि गरेको थियो ।
हालै उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, छेकम्पारमा लघुजलविद्युत उत्पादनको काम सम्पन्न गरेर स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । यसबाट दर्जनौँ गाउँमा दियालो युगको अन्त्य भएको छ, विजुली युगले प्रवेश पाएको छ ।

घरघरमा झलमल्ल विजुली बलेको छ । कुटानी पिसानी मिल चलेका छन् । हुनेखानेका घरमा इन्डक्शन चुलो चलेका छन् ।
यो युगान्तकारी परिवर्तनपछि गाउँलेहरु हर्षले बिभोर भएका छन् । नाचगान गरेका छन् । उनीहरुमा यो खुशी भरिदिने कादुरी त्यस भेगका जनजनको मनमनमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्