पोखराथोकमा सचेतना अभियान सञ्चालन गर
आफ्नो गाउँठाउँको दुखद अबस्थाको बारेमा प्रचारप्रसार गर्दा जोकोहीलाई पनि दुख लाग्न सक्छ । राम्रा, राम्रा खोजखबरहरु प्रचारप्रसार भए आफ्नो गाउँठाउँको सकारात्मक रुपमा प्रचार हुनेथियो भन्ने लाग्न सक्छ ।
गोरखा नगरपालिका ६ पोखराथोक गाउँबस्तीका सचेत समुदायलाई आफ्नो गाउँमा भएको नराम्रो पक्षको समाचार उजागर हुँदा दुख लागेको हुनसक्छ । तर गाउँमा विद्यमान विकृति, विसंगतिलाई छिपाउन पनि हुदैन भन्ने मान्यता हो ।
पोखराथोकका कतिपय पुरुष र महिलासमेत बेला कुबेला अत्याधिक मदिरापान गरी असभ्य व्यवहार गरी हिड्छन् । यसले शिष्ट, सभ्य समुदायलाई समेत बद्नाम गराउँछ ।
मदिरापानले गाउँ, समाजलाई बद्नाम गराउने पक्ष एकातिर छ, अस्वस्थ, गुणस्तरहीन र अत्याधीक मदिरापानले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । दुखका साथ भन्नुपर्छ, सो गाउँमा गुणस्तरहीन मदिरा अत्याधिक सेवन गर्दा धेरैले अकालमा मृत्यूवरण गर्नुपरेको छ ।
व्यक्तिले रक्सी मात्र होइन, रक्सीले व्यक्तिलाई खाइसकेपछि औषधी उपचारको पनि कुनै अर्थ नहुने रहेछ । अन्ततः ३० बर्षदेखि ५० बर्षको उमेरभित्रै मृत्यूवरण गर्नुपर्ने अबस्था आएका धेरै उदाहरण छन् ।
तथ्याङ्कमा भन्नुपर्दा अत्याधिक मदिरा सेवनबाट पाँचबर्षको अवधिमा ३० देखि ५० बर्ष उमेरसमूहका १७ जना महिला तथा पुरुषको मृत्यू भइसकेको छ । अहिले पनि गाउँमा अत्याधिक मदिरासेवन गरी मरणासन्न अबस्था ओछ्यान परेकाहरु भेटिन्छन् । कलेजो बिग्रिसकेका, मदिराले हात तथा शीर काम्ने अबस्था भइसकेकाहरु भेटिन्छन् ।
बिहानैदेखि मदिरा सेवन गर्ने, गुणस्तरहीन मदिरा सेवन गर्ने, अस्वस्थ मदिरा सेवन गर्ने अनि अभद्र व्यवहार गर्ने, झै झगडा गर्ने, अश्लील र अपशव्द प्रयोग गर्दै हिड्ने गर्छन् ।
जनधनको क्षति गर्ने, गाउँघरको इज्जत प्रतिष्ठा बिगार्ने यस्ता गतिविधि अन्त्यका लागि स्थानीय सचेत नागरिक, राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवीहरु लागि पर्नुपर्छ ।




