| सोमवार, कार्तिक २३, २०८३

मोबाइल नचल्ने उत्तरी गोरखामा चाँडै सेवा देऊ

भन्न त अहिले सबैभन्दा धेरै सूचना तथा सञ्चारका माध्यमको विकास भएको छ भनिन्छ, तर यस्तो समयमा पनि अहिलेसम्म मोबाइलसमेत नचल्ने बिकट गाउँहरु प्रसस्त छन् ।
चुमनुब्री गाउँपालिकाको केन्द्र धोदाङ(फिलिम)मा अहिलेसम्म पनि नमस्ते मोबाइल सञ्चालनमा छैन । त्यहाँका हजारौँ ग्राहकहरु पुरानो सेटेलाइट प्रविधिको स्काइफोनको भरमा छन् । त्यहाँ नीजि कम्पनीका मोबाइल सेवा पनि पुगेको छैन ।
सोही वडाको न्याकमा त झन कुनै पनि मोबाइल चल्दैन । त्यहाँका मान्छेको घरघरमा मोबाइल त छ तर फोटो खिच्न, गीत सुन्न, भिडियो हेर्न, बत्ती बाल्न मात्र मोबाइल प्रयोग गर्छन् ।

मुख्य प्रयोग फोन गर्ने हो, तर टावर नहुँदा फोन सेवा चल्दैन ।
वडा नं. ६ को लोक्पागाउँमा पनि त्यस्तै हो, न नमस्ते, न स्काइ फोन सेवा चल्छ । नीजि कम्पनीको फोन सेवा त चुमनुब्रीमा गएकै छैन ।
वडा नं. ५ को ड्याङमा पनि कुनै पनि फोन सेवा सञ्चालनमा छैन । पर्यटकीय दृष्टिले गुल्जार रहेको सो ठाउँमा फोन सेवा नचल्दा पर्यटक तथा स्थानीयबासी पीडित छन् ।
वडा नं. १ को साम्दो गाउँ, जुन तिब्बतको सीमाका लागि गोरखाको अन्तिम गाउँ हो, त्यहाँ पनि कुनै पनि फोन सेवा सञ्चालनमा छैन । लार्केपास गर्ने पर्यटकको अन्तिम बासको रुपमा रहेको प्रसिद्ध साम्दो गाउँमा अहिलेसम्म न नमस्ते, न स्काइफोन सेवा सञ्चालनमा छ ।
वडा नं. ७ को छुले र निलेमा पनि फोन सेवा छ भन्नु न छैन भन्नुको अबस्थामा छ । यदाकदा नेटवर्क टिप्छ, प्राय टावरले काम गर्दैन ।
त्यसैले सूचना तथा सञ्चारको सुविधा(हक) सुनिश्चित गर्न सरकारले दुर्गममा टावर सञ्चालनलाई जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्