| सोमवार, कार्तिक २३, २०८३

कोरोना बढ्दै, माक्स लगाउने घट्दै

गोरखामा कोरोना सक्रिय संक्रमित पाँचसय ५७ पुगेको छ । तीन साताअघि एक सय ५० रहेको संक्रमित संख्या अहिले पाँच सय नाघेको हो । यो गतिमा संक्रमण बढ्ने हो भने समुदाय स्तरमा भयावह बन्न धेरै समय लाग्दैन । अझै अहिले स्थानीय तहहरुले लक्षण र कन्ट्याक्ट ट्रेसिङका आधारमा मात्र कोरोना जाँच गरेका छन् ।
लिखितममा अहिले निषेधाज्ञा भएपनि व्यवहारतः सबै खुल्ला छ । सदरमुकामको मुख्य चोक र बजार बाहेक मास्क लगाएका, सामाजिक दुरी कायम गरेका, सरकारले भनेजस्तो स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका कहीँ देखिँदैन । डिसिसिएमसीले भनेजस्तो सार्वजनिक सवारीमा पनि स्वास्थ्य मापदण्ड पालना भएको छैन । बसपार्कदेखि हरमटारीसम्म बाहेक अन्यत्र निग्रानी पनि छैन । प्रहरीले चोकचोकमा सिठ्ठी फुकेर मास्क लगाउनुस् भन्दै ब्यापारी ब्यवशायीलाई पनि सम्झाउनुपरेको छ । आम नागरिकले मास्क आफ्नो सुरक्षाको लागि हो भन्ने अझै बुझेका छैनन् वा बुझेर पनि हेलचेक्र्याइँ गरिरहेका छन् । नबुझेकालाई बुझाउनु र हेलचेक्र्याइँ गरेकालाई कारवाही गर्ने डिसिसिएमसीको निर्णय पनि कहिले आक्रामक त कहिले सुस्त देखिन्छ ।
समुदायमा संक्रमण दर ब्यापक हुँदा निषेधाज्ञा गर्न ‘दुईसय’ कुरेर बसेको डिसिसिएमसीसँग अहिले संक्रमित पाँचसय नाघिसक्दा रोकथाम र नियन्त्रणको कुनै योजना छैन । एउटै पालिकामा एक सय भन्दा धेरै संक्रमित भईसके । ती ठाउँहरुमा सर्वसाधारण खुलेआम स्वास्थ्य सुरक्षाको मापदण्डको खिल्ली उडाइरहेका छन् । सदरमुकामको मुख्य बजारका ब्यापारी र ग्राहकलाई त पटक(पटक मास्क लगाईदिँदै हिड्नुपरेको छ भने ग्रामीण बजारको हालत सजिलै अनुमान गर्न सकिन्छ ।
स्थानीय तहहरुले कोरोना संक्रमण बढेको ठाउँमा, संभावित जोखिम पहिचान गरेर सुरक्षाको उपाय अबलम्बन गर्न मानसिक रुपमा नागरिकलाई तयार गर्नुपर्छ । चेकजाँच र उपचारलाई सहज बनाउनु पर्छ । गरे नगरेको निग्रानी डिसिसिएमसीले गर्न र योजना दिन सक्छ । नागरिकको जिउज्यानको रक्षा गर्ने बाचा गरेकाहरुले आफ्नो दायित्व सँगै कर्तब्य पुरा गर्न नागरिकलाई स्वस्थ्य र जिम्मेवार बन्न प्रेरित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्