| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश भित्र खानेपानीको अवस्था र समस्या बारे समिक्षा

गण्डकी प्रदेश भित्र खानेपानीको अवस्था र योजना सञ्चालनमा आईपर्ने समस्या, चुनौतीका बारेमा समिक्षा कार्यक्रम भएको छ ।
उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति समिक्षा कार्यक्रम संचालन गरेको हो ।
मन्त्री हरिशरण आचार्यको अध्यक्षता एवं योजना आयोग गण्डकी प्रदेशका सदस्य डा. सुवास अधिकारीको विशेष आतिथ्यता भएको कार्यक्रममा महाशाखा प्रमुखहरु, प्रदेश भरिका डिभिजन कार्यालय प्रमुख र इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।
डिभिजन कार्यालय प्रमुखहरुबाट बर्षभरिको भौतिक तथा वित्तिय प्रगति, योजना सम्पन्नताको अबस्था र काममा देखिएको समस्याबारे लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साथै आयोजना समयमा सम्पन्न गर्नका लागि कोभिड मुख्य कारण बनेको, चाँडो बर्षातको असर, प्राविधिक जनशक्तिको अभाव, उपभोक्ता हरुबाट जन सहभागिताका काम समयमा नहुने, बाढी पहिरोका कारण सडकमा समस्या, मर्मतको बजेट नभएको, योजना संख्या धेरै हुँदा गुणस्तर नियन्त्रणमा चुनौती रहेको डिभिजन प्रमुखहरुले बताएका थिए ।
प्रगति समिक्षा कार्यक्रममा माननी मन्त्री हरिशरण आचार्यद्वारा विगतका आयोजना समयमा निर्माण सम्पन्न गर्न र सुधारात्मक प्रगति गर्न सुझाब दिए । साथै उनले आगामी आर्थिक बर्षमा एक घर एक धारा, किसानका खेतहरुमा सिचाई र उर्वर भूमि वचावटमा ध्यान दिन अनुरोध गरे ।
स्थानिय तहहरुले प्रदेशले वास्ता गरेन भन्ने बाटो नराख्न र विभागबाट भएका योजना सम्बन्धित गाउँपालिकामा समयमा जानकारी गराई सम्बन्धको खाडल दुर गर्न समेत उनले सुझाब दिए ।
विपन्न बस्तिमा विद्युत मार्फत लिफ्ट भएका खानेपानी आयोजनाका उपभोक्तालाई विद्युत महशुल छुट वा मिनाहा के गर्न सकिन्छ यसै बर्षबाट सुरुवात गर्नेगरी तयारी गर्न र बाढी पहिरोका कारण अबरुद्ध खानेपानी र सिचाईलाई तत्कालीन हिसाबले हल गर्न मन्त्री आचार्यले आग्रह गरेका छन् ।
कार्यक्रम प्रशासन महाशाखा प्रमुख टिकाराम पौडेलको सन्चालनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ र मुख्य मन्त्री कार्यालयका उपसचिव झलकराम सुवेदी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्