
रास्वपा गोरखा जिल्ला सभापतिलाई पद छाड्न दबाब
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोरखा जिल्ला सभापति सुवर्ण रोकाहालाई पद छाड्न दबाब आएको छ। गोरखा जिल्लामा रहेका पार्टीका केन्द्रीय नेतृत्व तथा विभिन्न पालिकास्तरीय कार्यसमितिका सभापतिहरूले पदबाट राजीनामा गर्न दबाब दिएका हुन्।
केही दिनअघि गृहमन्त्री सुदन गुरुङले सभापति रोकाहा र पालिका सभापतिहरूलाई गृह मन्त्रालयकै सभाकक्षमा गराएको भेलामा रोकाहालाई आफ्नो पदबाट मार्गप्रशस्त गर्न दबाब दिइएको थियो।
गृहमन्त्री गुरुङ, सांसद तथा पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, समानुपातिक सांसद एलिजा गुरुङ र शोभा खनाल सहभागी छलफलमा सभापति रोकाहालाई राजीनामा गर्न दबाब दिइएको अजिरकोट गाउँ कार्यसमितिका सभापति प्रकाश ढकालले जानकारी दिए। अधिकांश समय काठमाडौं बसेर पार्टीका गतिविधि निष्कृय बनाएको आरोप रोकाहाले खेपेका छन्।
‘गृहमन्त्रीले सबै पालिकाका सभापतिहरूलाई आफ्नै सभाकक्षमा बोलाउनुभयो। सिरानचोकबाहेक सबै पालिकाका सभापतिहरू उपस्थित थियौँ,’ ढकालले भने, ‘जिल्लामा नबसेको, पार्टी गतिविधिलाई शून्य बनाएको भनेर त्यहाँ सबैले आरोप लगाए।’ एकाधबाहेक सबैले सभापतिमाथि आरोप लगाएर मार्गप्रशस्त गर्न आग्रह गरेको उनको भनाइ छ। साथै, पूर्वाग्रह राखेर लगाइएको आरोपमा सत्यता नरहेको ढकालको दाबी छ।
सबै पालिकाका सभापतिहरूले जिल्ला सभापतिलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेको गोरखा नगर सभापति शिशिर प्रधानले बताए।
मन्त्री तथा सांसदहरू जिल्लाका जनभेटघाट र अन्य कार्यक्रममा जाँदा पालिकाका सभापतिहरूले छुट्टाछुट्टै रूपमा सोही प्रकृतिको आरोप लगाउने गरेकाले गृहमन्त्रीले संयुक्त रूपमा छलफल कार्यक्रम आयोजना गरेको त्यहाँ उपस्थित एक सदस्यले बताए। ‘अलग÷अलग भन्दा एकसाथ सबै पक्षलाई राखेर कुरा गरौँ भनेर मन्त्रीज्यूले संयुक्त भेटघाटको वातावरण बनाउनुभयो। त्यहाँ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा केन्द्रीय सदस्यहरूलाई पनि बोलाउनुभयो,’ स्रोतले भन्यो, ‘सबै पालिका सभापतिहरूको आरोप सुनिसकेपछि पार्टीका केन्द्रीय नेतृत्वमा रहनुभएका गृहमन्त्री र सांसदहरूले कि सक्रिय रहनुपर्ने, नत्र पदबाट मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो।’
पदबाट राजीनामा गर्न आफूलाई आग्रह गरिएको सभापति रोकाहाले स्पष्ट पारे। आरोप सत्य नभई पूर्वाग्रह साँध्ने काम भएको उनको दाबी छ। ‘म जिल्ला सभापति भएको पहिलो दिनदेखि नै असन्तुष्ट समूहले पार्टीका केन्द्रीय नेतृत्वसँग मेरा विरुद्ध आरोप लगाउने, षड्यन्त्र गर्ने क्रम सुरु भएको थियो,’ उनले भने, ‘त्यसकै परिणाम अस्ति देखियो। मलाई राजीनामा गर्नुस् नै भन्नुभएको छ। मैले विधि र प्रक्रियाबाट निर्वाचित भएकाले राजीनामा गर्दिनँ भनेको छु। अब के हुन्छ हेरौँ।’ आफूले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उनको भनाइ थियो ।




