ताल, पोखरीहरुको संरक्षण र विकास होओस्
गोरखामा धेरै ताल, तलैया, पोखरीहरु छन् । दक्षिणतिर पालुङटारको ठाँटीपोखरी, तालपोखरी, भुलभुलेखार, सौरपानीमा घुन्चोकपोखरी लगायतका ताल छन् । उत्तरतिर धेरै ताल तथा पोखरीहरु छन् ।
कालताल(कल्छुमान ताल), वीरेन्द्र ताल, निसराङ ताल, चुवु ताल, दूधपोखरी, नारद पोखरी, नागे पोखरी, निम्चेपोखरी आदि उत्तरी भेगमा छन् । पत्ता नलागेका अझै धेरै ताल, पोखरीहरु छन् ।
यी ताल र पोखरीका कारण डाँडापाखामा हरियाली बढेको छ । तल्ला भेगहरुका भूभाग सिँचित भएका छन् ।
त्यतिमात्र होइन, यी ताल र पोखरीहरुमा तीर्थालु भक्तजनहरुले स्नान गर्ने, धर्मकर्म गर्ने गर्छन् । त्यस्तै तीनै ताल तथा पोखरीका कारण पर्यटन विकास भएका छन् ।
त्यसैले ती ताल र पोखरीहरुलाई संरक्षण, विकास र प्रचार प्रसार गर्नु जरुरी छ ।
यी मर्म र भावना अनुसार अजीरकोट गाउँपालिकाले बर्षेनी लाखौँ खर्च गरेर दूध पोखरी, नारद पोखरी, नागे पोखरी, निम्चेपोखरी जाने बाटो निर्माण गरिरहेको छ । यसको महत्व अल्पकालीन रुपमा नहुन सक्छ, तर यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक त्यसतर्फ जाने क्रम बढ्नेछ । यसले सो क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पु¥याउने विश्वास लिन सकिन्छ ।
अजीरकोटले झैँ पालुङ्टार नगरपालिका, बारपाक सुलीकोट, धार्चे गाउँपालिकाले पनि ती ताल पोखरीहरु संरक्षण गर्ने, त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण गर्ने, अन्य आधारभूत आवश्यकताका पूर्वाधारहरु निर्माण गर्ने, ती ताल तथा पोखरीहरुको विकास गर्ने र प्रचार प्रसार गर्ने कामलाई प्राथमिकता दिएमा ती क्षेत्रमा पर्यटन विकास हुने छ ।
अजीरकोट गाउँपालिकाले पनि त्यहाँ पुग्ने पदमार्ग निर्माण सम्पन्न गरिसकेको छैन । बजेट शीर्षकहरु खोजेर अन्य धेरै बजेट जुटाएर पानीका धारा, सौचालय, सामुदायिक भवन, पोर्टर हाउस, पाटीहरु निर्माण गर्नुपर्छ ।




