
काङ्ग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। याे सँगै देउवा पाँचाैँ पटक मुलुककाे प्रधानमन्त्री बनेका छन्।
देउवाले आफूलाई ज्याेतिषले सात पटक प्रधानमन्त्री बन्ने याेग रहेकाे भन्दै दिएकाे अभिव्यक्ति चर्चित छ।
प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासकाे मत लिनुपर्छ। विश्वासकाे मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जाने छ।
यसअघि सोमबार सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।
प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै शपथ ग्रहण गर्ने तयारी छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १-१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।
जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र देउवा दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने बताएकी थिइन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए ।
ओलीले पनि एमालेका सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।
राष्ट्रपतिले जेठ ७ गते राति नै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
त्यसपछि एमालेको खनाल-नेपाल समूहसहित कांग्रेस, माओवादी, जसपाको यादव समूह र जनमोर्चाका गरी १४६ सांसदले प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।




