| सोमवार, कार्तिक २३, २०८३

विपतग्रस्त क्षेत्रमा वत्ती, पानी र बाटो सुचारु गर

असार सुरु भएसँगैको भारी बर्सातले गोरखाका अधिकांश क्षेत्र तहसतहस बनाएको छ । व्यक्ति पुरिएर जीवन गुमाएका छन् । उनीहरुका घर, गोठ बगेको छ । पहिरोले डाँडाकाँडा, भीरपाखा, बाटोघाटो बगाएको छ । सडक, कुलो, धाराकुवा, पानीपँधेरो बगाएको छ । खानेपानीका ट्याङ्की, पाइपलाइन क्षतविक्षेत छन् ।
विजुलीका पोल ढलेका छन्, तार लत्रिएका छन् । खेतबारी बगेका छन्, पुरिएका छन् । पुल पुलेसा बगेका छन् ।
भत्किने जति भत्किएका छन्, कतिपय भत्किन बाँकी छन्, जसले गर्दा त्यहाँ बस्न नसकेर कतिपय अन्यत्र शरण लिन पुगेका छन् अथवा पालभित्र बसेका छन् ।
पहिलो चरणमा बूढीगण्डकी करिडोर, दोस्रोचरणमा चेपे(दरौँदी करिडोर बढि क्षतिग्रस्त बन्यो । त्यसैले अहिले जताततैको अबस्था ज्यादै कष्टकर छ ।
यो दुखद अबस्थालाई मध्यनजर गरी स्थानीय सरकारले आफूसक्दो मर्मतसम्भार गर्न अबेर गर्नुहुन्न । आफ्नो बुताबाट नहुने कामका लागि जिल्ला विपत व्यवस्थापन समिति, सम्बन्धित कार्यालय, प्रदेश सरकारसँग गुहार्नुपर्छ ।
जिल्ला विपत व्यवस्थापन समितिले पनि सीघ्रातिसीघ्र सत्यतथ्य क्षतिको विवरण संकलन गरी जनधनको क्षति भएका परिबारलाई राहत दिने काम गर्नुपर्छ । क्षति भएका भौतिक संरचनाको मर्मतसम्भारका लागि बलबुताले भ्याएसम्म पहल गर्नुपर्छ । क्षति भएको संरचना मर्मतका लागि सम्बन्धित कार्यालयलाई ताकेता गर्नुपर्छ ।
जिल्लाको बस्तुस्थिति बुझी प्रदेश सरकारले पनि यथासीघ्र राहत, क्षतिपूर्तिको काम गर्नुपर्छ ।
अहिलेसम्म कानमा तेल हालेर बसेका छन् भन्ने अर्थमा यो होइन । सबैलाई चिन्ता र चासो त छ तैपनि अबस्था सुधार नभएकाले जारी गतिलाई तिब्रता दिई अबस्था सामान्यीकरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्