उत्तरी गोरखा जाने पदमार्ग सहज बनाऊ
गत असार एकगतेको भीषण बाढीले उत्तरी गोरखा प्रवेश गर्ने पदमार्ग बिभिन्न ठाउँमा क्षतिग्रस्त भएको छ । विशेषगरी पदमार्गको ठूलो क्षति चुमनुब्री गाउँपालिका वडा नं. ३ जगत बगरमा भएको छ । यहाँ अहिले पनि मान्छेहरु लुगा कपडा फुकालेर हातमा लिई कट्टु मात्र लगाएर बूढीगण्डकी पार गरी हिड्नु पर्ने बाध्यता छ ।
यसरी जोखिम मलेर एक प्रतिशत मान्छे पनि हिड्न सक्दैनन् । एकाध मान्छे ज्यानको माया मारेर हिडेका हुन् ।
अहिले त्यहाँका उपभोक्ता समितिका पदाधिकारीहरु योजना फरफारक गर्न, बिलको भुक्तानी लिन सदरमुकाम नआई नहुने भएको छ । तर बाटोको अबस्था यति बिघ्न डरलाग्दो मात्र छैन, जोखिम पनि छ ।
त्यहाँ मात्र पनि होइन, ठाउँठाउँमा बाटो जोखिम छ । यी सब जोखिम मलेर हिड्नु पर्ने बाध्यताको अन्त्य गर्नु जरुरी छ । प्रकृतिलाई मान्छेले व्यवस्थापन गर्न सक्दैन, तथापि जोखिम हुन नदिन विभिन्न तकनिकी अपनाउन सक्छ । त्यसैले सक्दो र मिल्दो उपाय अपनाई ज्यूधनको सुरक्षा गर्नु अपरिहार्य छ ।
त्यस्तै त्यस क्षेत्रमा अन्नबाली राम्रो हुदैन । त्यहाँका जनजीवन सबै बाहिरबाट आयातित खाद्यान्नमा निर्भर छन् । कि तल(सदरमुकाम), कि माथि(तिब्बत)बाट आयातित खाद्यान्नमा त्यहाँका जनजीवन निर्भर छन् ।
अहिले माथि(तिब्बत)बाट खाद्यान्न आउन सक्दैन । किनभने कोभिडका कारण तिब्बतले बिगत दुईबर्षदेखि नाकाबन्दी गरेको छ । तल(सदरमुकाम)बाट पनि खाद्यान्न जान सकेको छैन किनभने बाटो बिग्रिएको छ । यस्तो अबस्थामा त्यहाँका बासिन्दामा खाद्यान्न हाहाकार हुनबाट बचाउन पनि खच्चड हिडाउने बाटो यथासीघ्र खुलाउनु जरुरी छ ।




