| सोमवार, कार्तिक २३, २०८३

बाँदर नियन्त्रण गर्ने वन कार्यालयको रचनात्मक अभ्यास

किसानले खेती गर्छन् । फसल लिने बेला अनेकन झमेला बेहोर्नुपर्छ । कुनै बर्ष अतिवृष्टि भएर उत्पादनमा ह्रास हुन्छ । कुनै बर्ष अनावृष्टि हुन्छ र उत्पादन गिरावट हुन्छ । कुनै बर्ष सलह, पतेरा, गवारो, वा विभिन्न रोगव्याधीले बालीनाली नष्ट गर्छ ।
भाग्यवश कुनै बर्ष बाली राम्रो भयो भने पनि फसल लिने बेला बाँदर लागेर हैरान ।
बाँदरले बालीनाली नष्ट गरेपछि अहिले धेरै किसानहरु पेशाबाट आजित छन् । कतिपय त विस्थापितै भएका पनि छन् । जताततैका किसानहरु बाँदरको समस्याबाट ग्रस्त छन् । बाँदर वन जंगलभन्दा धेरै गाउँबस्ती, खेतीबालीमा चाहार्ने गर्छ ।
यसको कारण के हो र यसबाट कसरी सुरक्षित रहने भन्ने बारे घनिभूत रुपमा अध्ययन गर्नुपर्छ ।
यसबर्षदेखि डिभिजनल वन कार्यालयले बाँदरलाई वनमै भुलाउने बाटो बनाउन वनजन्य फलफूल खेती गर्ने अभ्यास सुरु गरेको छ । वनमा खाद्य असुरक्षा भएपछि बाँदर गाउँघर, बालीनाली पसेको वन कार्यालयको बुझाइ रह्यो त्यसैले उसलाई वनभित्रै खाद्य सुरक्षा प्रवन्ध गर्न कार्यालयले सामुदायिक वन उपभोक्ता महासंघसँग साझेदारी गरी वनभित्र फलफूल रोप्ने कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम अहिले चारवटा सामुदायिक वनले कार्यान्वयन गरेका छन् । यदि यसलाई विस्तार गरी जिल्लाव्यापी बनाउन सकेमा किसानलाई राहत मिल्ने विश्वास लिन सकिन्छ ।
यो एक रचनात्मक कार्यक्रम हो । यसले पूर्णतः बाँदर नियन्त्रण गर्छ भन्ने अपेक्षा अहिले गर्दा मनासिब हुदैन किनभने यो पनि एउटा नौलो अभ्यास हो । सिद्ध भइसकेको सिद्धान्त होइन । तर कम भने पक्कै गर्छ । यस्तै खालका दुई, तीन बैकल्पिक रचनात्मक कार्य गर्न सकेमा बाँदर नियन्त्रण नभए पनि कमी भने पक्कै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्