बानियाँ निर्माण सेवाको लापार्बाही अक्ष्यम्य
गोरखा सदरमुकामबाट आरुघाट जोड्ने सडकको फिनामभन्दा उता कालोपत्रे छ । तर फिनामसम्मको सडकको अबस्था नाजुक छ । यहाँ न मोटरसाइकल कुदाउन सकिन्छ, न कार, जीप ।
यो सडकमा ट्याक्टर, टिपर पनि फँस्ने गर्छ ।
सो खण्डको छ किलोमिटर सडक आठ करोड ४७ लाख रुपैयाँमा कालोपत्रे गर्न बानियाँ निर्माण सेवाले गत भदौमा ठेक्का सम्झौता गरेको थियो । त्यसयता कछुवा गतिमा काम गरिरहेको छ ।
बर्सात सुरु हुनुअघि धुलो उडाएर बस्तीमा आतंक मच्चायो । जब बर्सात सुरु भयो, हिलो भएर गाडी चल्न नसक्ने अबस्था छ ।
पैदल हिड्ने यात्रुलाई पनि यात्र जटिल बनाएको छ ।
ठेक्का सम्झौता गरेपछि तिब्र गतिमा काम नगर्दा यो अबस्था सिर्जना भएको सबैको बुझाइ छ ।
कामको ठेक्का लिने, कार्यादेश लिने, पेस्की लिने अनि सो रकम अन्यत्र खर्च गर्ने अथवा मोजमस्ती गर्ने प्राय ठेकेदारको प्रवृत्तिका कारण निर्माण स्थलको यस्तो हविगत हुने गर्छ । यहाँ यस्तो अबस्था सिर्जना हुनुको पछाडि पनि यही कारणले घर गरेको छ ।
कतिपय ठेकेदारले धमाधम काम सुरु गरेर निर्धारित समयमा सम्पन्न गरेका उदाहरणहरु पनि छन् ।
तर प्राय ठेकेदाहरुले काममा बदमासी गर्ने गरेका हुन्छन् । कार्यस्थलमा दुई चार जना मजदुर मात्र प्रयोग गरी अल्झाइरहने, निर्धारित समयमा १५, २० प्रतिशत मात्र काम सम्पन्न गर्ने, पारिश्रमिक नदिएर मजदुरलाई काम छाडेर भाग्न बाध्य पार्ने जस्ता बिकृत ठेकेदारको बिगबिगी पनि समाजमा छ ।
यस्ता कामचोर ठेकेदारलाई सम्बन्धित कार्यालयले बारम्बार सचेत गराउने, ताकेता गर्ने गर्नुपर्छ । काम सम्पन्न गर्नु कताकर्ता निर्माणस्थलको बिजोग पारेर स्थानीयबासी, उपभोक्ताहरुलाई हैरान पार्नु क्ष्यम्य हुदैन ।




