विपत प्रतिकार्य पूर्वतयारीमा स्थानीय सरकार पनि असफल
कोरोना महामारीले थिलोथिलो भइरहेका बेला अहिले पहाडी जिल्लाले बाढी, पहिरोको अर्को प्रकोप सामना गरिरहनु परेको छ । विशेषगरी सिन्धुपाल्चोक, मनाङपछि गोरखा बाढी, पहिरोको चपेटामा छ ।
गोरखाको पनि विशेषगरी बूढीगण्डकी करिडोर बाढीपहिरोको समस्यामा छ । यतिबेला चुमनुब्री गाउँपालिका ३ सल्लेरीको जनजीवन बूढीगण्डकी कटानले संकटग्रस्त छ । त्यहाँका ४ घर बूढीगण्डकीमा बगे । अरु १० घर बग्ने तयारीमा र बाँकी १२, १३ घर पनि उच्च जोखिममा छन् । दर्जन बढि घर बिस्थापित भइसकेका छन् । सल्लेरीभन्दा केही तलको जगत बजारको तल्लो टोलमा रहेका तीन, चार घर पनि बूढीगण्डकीले बढारेर लग्यो । माथिल्लो टोलको शीर पनि बूढीगण्डकीले रेटिरहेको छ । त्यसमाथिको भालुखोला लघुजलविद्युत आयोजनामा क्षति पु¥याएको छ ।
त्यहाँमात्र होइन, सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, यारु, ठूलोढुंगा, स्याउली लगायतका बिभिन्न ठाउँमा बाढीले पहिरो लगेर कैयौँ घर, बारी, बाटो, पुल क्षतविक्षेत भएका छन् । माछाखोलाबाट माथि जानेबाटो हिडिसक्नु छैन । तातोपानीको पुल तरेर दोभान निस्कने बाटो त पूरै बन्दै छ ।
जिल्लामा जिल्ला विपत व्यवस्थापन समिति छ । हरेक पालिकामा पालिकास्तरको विपत व्यवस्थापन समिति छ । तर बर्षेनी समान प्रकृतिको विपत आइपर्छ । समितिको काम विपत परेपछि र त्यो पनि बिस्तारै मत्थर हुदै गएपछि राहत बाँड्ने र फोटो खिचाउने मात्र देखिएको छ ।
पूर्व तयारीको काम खै ? जोखिम ठाउँको बस्ती स्थानान्तरण गर्ने काम खै ? दुईचार पैसाको लोभमा जोखिम ठाउँमा पसल थालेर बस्नेहरुलाई निरुत्साहित गर्ने काम खै ? कटान तथा पहिरो जान सम्भाव्य ठाउँमा रोकथामको पहल खै ? विपत परिहालेमा सीघ्र उद्धार र राहतको ब्यबस्था खै ?
स्थानीय स्तरका सबै खाले काम गर्न स्थानीय सरकार चुस्त हुन्छ भनिन्छ, तर स्थानीय सरकार गठन भएको चार बर्ष भयो, विपतको प्रतिकार्यको पूर्व तयारीमा सफल देखिएन ।




