खोपको अन्यौल हटाउ
गोरखामा मंगलवार कोरोना बिरुद्धको खोप लगाउने अभियान नौ वटा स्थानीय तहले सुरु गर्न सकेनन् । कारण तीन हजार चार सय ८३ जनालाई मात्रै पुग्ने खोप प्राप्त भएको छ । कसलाई खोप लगाउने, कसलाई नलगाउने भन्ने अलमल स्थानीय तहलाई भएको देखिन्छ ।
यस अघि ६० देखि ६४ वर्ष उमेरकालाई खोप लगाउने योजना सहित स्थानीय तहले जनसंख्याको बिवरण स्वास्थ्य कार्यालयले बुझाए ।
तर बुझाएको संख्याको ५० प्रतिशतलाई पुग्ने पनि खोप पाउन सकेनन् । कारण स्वास्थ्य कार्यालयलाई नै सरकारले थोरै खोप पठायो । सँगसँगै ६२ देखि ६४ वर्षलाई लगाउनु भन्ने नयाँ परिपत्र पनि ग¥यो । सरकारको छिनछिनमा बद्लिएको योजनाले स्थानीय तह अलमलिए ।
यस अघि ६० वर्ष माथिकाले खोप पाउँछन् भनेका स्थानीय तहले दुई दिनमै ६२ माथिकालाई मात्र दिने भन्न असजिलो महशुस गरे ।
कतिपय पालिकाले भने ६२ देखि ६४ लाई पुग्ने खोप पनि प्राप्त नभएको बताएका छन् । कुन वडाबाट सुरु गर्ने, कसलाई पहिले दिने भन्ने विषयमा बिवाद हुने भन्दै केही स्थानी तहले बिवरण अनुसार खोप उपलब्ध नहुँदा असहज हुने बताएका छन् ।
स्वास्थ्य कार्यालयले अहिले लगाइएको भेरोसिल खोपको दोस्रो मात्रा दिनुपर्ने भएकाले प्रदेशमा स्टक राखिएको जनाएको छ । अहिले भएको खोप जेष्ठताको आधारमा लगाउँदै गर्ने र तत्काल अर्को खोप ल्याउन पहल गर्नुपर्ने देखिन्छ । अन्यथा जिल्लामा आएको खोप थन्किएर बस्ने जेष्ठ नागरिकले लगाउन नपाउने अवस्था आउनुहुँदैन ।
स्थानीय तहले जनतालाई यथार्थ बुझाएर तत्काल जेष्ठताको आधारमा खोप लगाउन सुरु गर्ने र सबै तह तप्काबाट थप खोप छिटो ल्याउन सबै नागरिकलाई अनिवार्य खोप लगाउन प्रोत्साहित गर्नुपर्ने देखिन्छ । आएको खोप थन्किएर बस्दा सर्वसाधारण नगारिकमा गलत सन्देश जान सक्छ र सँगै एकै समुहका कसैले पाउने र कसैले खोप नपाउने अवस्था पनि आउनु हुँदैन ।




