कोलस्वाँरा, गम्बाङ जस्ता दुर्गम गाउँमा आँखा पुगोस्
कोरोना दोस्रो भेरियण्ट विशेषगरी गाउँघरमा रमाएको पाइयो । तथ्याङ्कसहित बोल्दा पनि गोरखा बजार, पालुङ्टार बजार, आरुघाट बजारमा भन्दा बारपाक, क्यामुण्टार, ठाँटी, धावा, बुङ्कोटतिर अधिक फैलियो ।
अहिले पनि ती गाउँहरुमै फैलिरहेको छ ।
यसको कारण स्पष्ट छ कि, सहरमा स्वास्थ्य सावधानी अपनाइयो, सहरमा अपनाइएन । निर्धारित स्वास्थ्य सुरक्षाका नियमहरु तुलनात्मक रुपमा सहरमा बढि पालना भयो, गाउँमा भएन ।
घरगृहस्थीको काम, मेलापर्म, पानी पँधेरो गर्नुपर्ने भएर पनि गाउँमा मापदण्ड पालना गर्न साध्य नलागेको हुनसक्छ । तर कारण जे नै होस्, कोरोना गाउँमै फस्टाएको छ ।
भाग्यवश नै भन्नुपर्छ, गाउँमा फैलिएको कोभिड गाउँलेले काम गरेरै पचाएका छन् । यसो भनिरहँदा गाउँलेले गरेको हेल्चेक्र्याइँलाई प्रश्रय दिन खोजेको भन्ने गलत अर्थ लगाउनु उचित छैन ।
अपवाद, बारपाकमा अल्लि धेरैको ज्यान गएको छ ।
कोभिड रमाएका अन्य साना गाउँहरु पनि छन्, तर ती गाउँहरुमा प्रायको ध्यानआकर्षण भएको छैन । साविक सौरपानी गाविसमा पर्ने कोलस्वाँरा, साबिक स्वाँरा गाविसमा पर्ने गम्बाङ जस्ता दूर दराजमा कोरोना ठूलो दरमा फैलिएको छ । जम्मा १५ घर रहेको कोलस्वाँरामा ३६ जना संक्रमित छन् । जम्मा १० घर रहेको गम्बाङमा छ जना संक्रमित छन् । छ जनालाई नै नमूनाको रुपमा परीक्षण गरिएकामा छ जनालाई नै संक्रमण पुष्टि भएको हो ।
यी गाउँहरु वडाका केन्द्रबाट पनि दूरदराजमा छन् ।
चर्चा कमाउन राहत वितरण गर्न जानेहरु, स्वास्थ्यटिम लिएर जानेहरुको नजर पनि त्यस्ता अनकण्टार गाउँमा परेको छैन । सहजै आउजाउ गर्न सकिने ठाउँमा पुगेका राहत, स्वास्थ्य सामग्री ति ठाउँमा कहिले पुग्लान । ती गाउँको अबस्था बुझेर राहत, उद्धारका कामहरु गर्नुपर्ने खाँचो देखिन्छ ।




