| सोमवार, कार्तिक २३, २०८३

छिटो संक्रमण पहिचान गर्न एन्टिजिन प्रभावकारी

पिसिआर जाँचका लागि स्वाब दिएको हप्ता दश दिनसम्म रिपोर्ट नआएपछि गोरखाका स्थानीय तह, स्वास्थ्य संस्थाले एन्टिजिन परीक्षणमा प्राथमिकता दिएका छन् । यसअघि तत्काल उपचार, शल्यक्रिया गर्नुपर्ने, स्वास्थ्यमा जटिल समस्या देखिएकालाई गोरखा र आँपपिपल अस्पतालले मात्र एन्टिजिन परीक्षण गर्ने गरेको थियो ।


पिसिआर जाँचका लागि स्वाब दिएकाहरुको रिपोर्ट लामो समय नआउँदा संक्रमितहरु खुलेआम हिड्ने, रिपोर्ट पोजेटिभ आउँदासम्म संक्रमित निको भईसक्ने तर उनीहरुबाट अन्य ब्यक्तिमा सर्ने खतरा बढेपछि स्थानीय तहले तत्काल संक्रमित पहिचान गर्न एन्जिनिटनलाई प्राथमिकता दिएको बताएका छन् । जेठ २ गतेदेखिका पिसिआर रिपोर्टको नतिजा आउन अझै बाँकी छ ।


गोरखाका सबैजसो स्थानीय तह पिसिआर रिपोर्ट ढिला आउँदा ग्रामिण भेगमा संक्रमण दर ब्यापक भएको बताउँछन् । तत्काल संक्रमित पहिचान गर्न अहिले सबैजसो पालिकाले एन्टिजिन परीक्षण सुरु गरेका छन् । स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको र आफैँ पनि पालिकाहरुले एन्टिजिन किट खरिद गरेर परीक्षण थालेका हुन् । तर गाउँगाउँमा भएको संक्रमण दरको तुलनामा परीक्षण कम भएको छ । कतिपयले भने पिसिआर रिपोर्ट हप्ता दिनसम्म नआउने भएकै कारण स्वाब जाँच गरेका छैनन् । अब गाउँगाउँमा स्थानीय तहले एन्टिजिन परीक्षण ब्यापक गर्नुपर्छ । यसले केही हदसम्म संक्रमित पहिचान गर्न मद्धत पुग्ने देखिन्छ ।


एन्टिजिनको तुलनामा पिसिआर जाँच विश्वसनिय हुने चिकित्सकहरु बताउँछन् । तर एन्टिजिन परीक्षणले संक्रमित छिटो पहिचान गर्न भने मद्धत गर्छ । एन्टिजिन पोजेटिभ देखिएकाहरुको पिसिआर पनि पोजेटिभ देखिने गरेको छ । तत्काल संक्रमण भए नभएको जाँच गरेर संक्रमितहरु एकान्तबास बस्ने हो भने अहिले जस्तो गोरखामा संक्रमण दर ब्यापक हुने थिएन ।

प्रतिक्रिया दिनुहोस्