पिसिआर रिपोर्ट ढिलाले जोखिम बढायो
गोरखामा कोरोना संक्रमणको लक्षण देखिएपछि स्वाब संकलन गरी पिसिआर जाँच गर्न पठाएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने त्रास बढेको छ ।
त्रास मात्र होइन, रिपोर्ट नआउँदा संक्रमण सर्ने क्रम पनि बढेको छ ।
गत शुक्रबार गोरखाका दुई जना पिसिआर दिएका बिरामीको मृत्यु भयो । मृत्यु भएको तीन घण्टापछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उनीहरुको रिपोर्ट पोजेटिभ आयो ।
गाउँगाउँमा संक्रमणको दर बढिरहेको छ । स्थानीय तहले स्वाब संकलन गरेर समयमै पठाए पनि प्रयोगशालाले पिसिआर रिपोर्ट पठाउन छ दिनसम्म लगाउने गरेको छ ।
ढिलासुस्तीको चपेटामा परेर गोरखाका एक हजार भन्दा बढीको रिपोर्ट आउन बाँकी छ ।
ढिला गरी पिसिआर रिपोर्ट आउँदा कोरोना संक्रमण भए/नभएको अन्यौल हुने, उपचारमा समस्या हुने, संक्रमित परिबारको सदस्यसँग घुलमिल हुनसक्ने जोखिम बढ्छ ।
रिपोर्ट ढिला आउँदा स्वाब दिएकाहरु गाउँमा खुलेहाम हिँड्ने, डुल्ने गरेका छन् । संक्रमण दर पनि बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
गोरखाबाट संकलन भएको स्वाब पिसिआर परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइन्छ । प्रयोगशालामा अत्याधिक चाप भएकाले रिपोर्ट ढिला आएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संञ्चालन केन्द्र पोखराले बताउने गर्छ ।
अहिले दुई सिफ्टमा संचालन भएको प्रयोगशाला आइतबार वा सोमबारदेखि तीन सिफ्ट चलाउने तयारी भएको बताउँदै प्रदेश स्वास्थ्य निर्देशनालयले केही दिनमा समस्या समाधान हुने बताए । गण्डकी प्रदेशको नवलपुर, बाग्लुङ र पोखरामा सरकारले पिसिआर निःशुल्क जाँच गर्दै आएको छ ।
जवाफ त एउटा न एउटा भइ नै हाल्छ, तर सवालको जवाफ भन्दा पनि नागरिकले छिटोछरितो जवाफ खोज्ने हुन् । त्यसैले जुनसुकै विधि अपनाएर परीक्षणको रिपोर्ट चाँडै उपलब्ध गराऊ ।




