| सोमवार, कार्तिक २३, २०८३

नाका खुलाउने पहल होओस्

जब दक्षिणी नाका बन्द हुन्छ, मुलुकभर नूनदेखि सुनसम्म हाहाकार हुन्छ । अनि सडकमा, सदनमा, राजनीतिक सभा, सामाजिक सञ्जालमा बिरोधका नारा घन्किन्छन्, मुलुक हल्लिन्छ । देशविदेशबाट चौतर्फी आलोचना र दबाब सिर्जना हुन्छ ।

नाका उत्तरमा पनि छ । तिब्बतसँगको नाका पनि चीनले एकातर्फी रुपले बन्द गर्छ । गरिरहेको छ । अहिले गोरखाकै दुई नाका डेढबर्षदेखि बन्द छ । भलै उत्तरबाट आएका सामानमा मुलुक निर्भर छैन । त्यसैले होला यो नाकाबन्दले मुलुक हल्लाउन सक्दैन ।
तर सीमावर्ती गाउँबस्ती यो नाकाबन्दले सकसमा छ । त्यहाँका नेपाली नागरिकले अत्यावश्यकीय सामानको अभाव झेलिरहेका छन् ।

तिब्बती नाका बन्द हुँदा सीमा क्षेत्रका बासिन्दामा कुन हदसम्म असर छ, सोध्न जरुरी छ, चासो राख्न जरुरी छ । भलै त्यहाँका बासिन्दाको आवाज सरकारसम्म पुग्दैन ।
मोटरबाटोले नछोएका सीमावर्ती गाउँमा भारतबाट आएको सामान पु¥याउँदा प्रतिकेजी डेढसय, एकसय ८० रुपैयाँसम्म ढुवानी भाडा जोडिन्छ । जसले गर्दा दैनिक उपभोग्य सामग्री धेरै महंगो पर्न जान्छ ।

यसको तुलनामा तिब्बतबाट आएको सामान अति सस्तो पर्न जान्छ ।
तर चीन सरकारले नाकाबन्दी गर्दा कहीँ कतै विरोधको आवाज सुनिदैन । के उत्तरी सीमा क्षेत्रका बासिन्दाले पाएको सास्तीचाहिँ नगन्य हुन्छ कि चीन सरकारको निणर्यको विरोधमा बोल्नु राष्टूहित विपरीत हुन्छ ?
यसको अर्थ बिरोधमा बोल्नुपर्छ भन्ने होइन, तर कम्तिमा नाका खुलाउन पहल गर्नुपर्ने होइन ? यसबारे कहीँ, कसैले सोधखोज तथा समस्या समाधान तर्फ पहल गरेको छैन ।

कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो तर अहिलेसम्म गोरखाको उत्तरी क्षेत्रमा कोरोना संक्रमण देखिएको छैन । तथापि नाकाबन्द जारी छ । यसलाई हटाउन सरकारी तबरबाट पहल हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्