सडकको अबस्था र बढ्दो सवारी दुर्घटना
गोरखामा शनिबार फेरि एउटा दुखद सवारी दुर्घटना भयो । भूकम्पको केन्द्रविन्दू समेत रहेको पर्यटकीय गाउँ ‘बारपाक’ भ्रमण गर्न आएका लम्जुङका दुई शिक्षकको एकै चिहान भयो । सातजना गम्भीर घाइते भए ।
दूधपोखरी गाउँपालिका २ बिचौरको वागिश्वरी माविका शिक्षकहरु सवार बोलेरो जीप राङरुङको कहालीलाग्दो भीरबाट दरौँदी नदीमा खसेर दुर्घटना भएको थियो ।
ज्यादै साँगुरो, ग्रेडिङ नमिलेको घुम्ती अनि उकालो, ओरालो सडकमा जबर्जस्त सवारीका साधन चल्ने गरेको थियो । कहालीलाग्दो, भीर र जीर्ण सडकमा सवारी चलाउनु व्यवसायी तथा चालकको, त्यस्तो सडकमा गाडी चढ्नु यात्रुको वाध्यता हो । नत्र अर्को विकल्प छैन ।
सडकको अवस्था हेर्दा सवारी सञ्चालन गर्न लायक छैन तर सञ्चालन नगरेर के गर्नु, यात्रुलाई गन्तव्यमा जानै पर्छ । व्यवसायी, चालक दललाई अर्थ आर्जन गर्नैपर्छ ।
आज राङरुङको भीरमा गाडी खस्यो । यस्ता भीर जताततै छन्, यस्ता कठिन सडक अन्यत्र पनि छन् । ती सडकहरुमा पनि कुनै न कुनै दुखद घटना हुन सक्छन् । कुनै न कुनै दिन यस्तै दुर्घटनाको खबरले स्तब्ध हुनुपर्ने अबस्था आउन सक्छ ।
यसबाट बच्न सर्वप्रथम त सडक चाँडै स्तरोन्नति गर्नुपर्छ । अनि चालकले पनि पर्याप्त सावधानी अपनाएर डूाइभिङ गर्नुपर्छ । अहिले आन्तरिक पर्यटन गर्ने क्रम पनि बढेको छ । देशका विभिन्न ठाउँबाट गाउँगाउँको भ्रमणमा जाने संस्कारको विकास भइरहन्छ । गोरखाका पनि बारपाक, लाप्राक, गुप्सीबस्तीहरु पर्यटकीय ठाउँको रुपमा विकास भइरहेको छ । यस्ता गाउँमा पर्यटक, यात्रुहरुको आवतजावत बढि रहेको छ । कच्ची सडकलाई स्तरोन्नति गर्नु र यात्रु तथा चालक सबैले सावधानी अपनाउनु जरुरी छ ।




