वनमा डँडेलो लगाउनेमा विध्वंसात्मक मानसिकता
मानिसमा सत्व, रज र तमो गुण हुन्छ । सत्यवादीहरु सात्विक हुन्छन् । जसमा रजो गुण हुन्छ, दम्भी, घमण्डी स्वभावका हुन्छन् र जसमा तमो गुण हुन्छन्, उनीहरुमा उद्दण्डता, उच्छृङ्खलता, विध्वंसात्मक मानसिकता भएको हुन्छ ।
कुटपिट, लुटपाट, आगजनी जस्ता आतंक मच्चाउने यस्तै गुणधारीहरुले हो ।
अहिले नेपाल लगायत विभिन्न देशमा पनि डँडेलाको समस्या छ । जसका कारण वायुमण्डल नै प्रदुषित छ । वातावरण प्रदुषित भएपछि धमाधम मान्छेहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ । एकातिर कोभिड १९ को त्रास अर्कातिर प्रदुषित वातावरणका कारण विभिन्न स्वास्थ्य समस्या ।
यस्तो अबस्था आएपछि सरकारले मुलुकभरका शैक्षिक संस्था बन्द गर्न वाध्य भएको छ ।
यस्तो विषम परिस्थितिमा पनि कतिपय मान्छेहरुले अझै वनमा आगो झोसिरहेका छन् । आज पनि वनमा आगो सल्काइरहेका छन् । सबतिर आगलागीको त्रास फैलिएको, यसको दुश्प्रभावका कारण विभिन्न समस्या पैदा भएको सुन्दासुन्दै पनि फेरि अझै डँडेलो सल्काउनेहरु अबुझ मात्र होइनन्, ती तामसी हुन्, विध्वंसात्मक मानसिकताका हुन् ।
त्यस्ता मानसिकता भएकाहरुले आगजनी मात्र गर्दैनन्, पागलपनका कारण अन्य ध्वंसात्मक गतिविधि पनि गर्न सक्छन् ।
त्यस्ता मानसिकता भएकालाई सबैभन्दा सुरुमा त परिबारजनले सम्झाइबुझाइ गर्नुपर्छ । डँडेलाको बेफाइदा, यसबाट हुनसक्ने हानी, नोक्सानीका बारेमा बुझाउनु पर्छ । सम्झाउनु पर्छ । यति हुँदा पनि सम्झिएन भने धम्क्याएर पनि वन डँडेलो लगाउनबाट रोक्नु पर्छ ।
वन डँडेलोले मानव जगतमा नै असर पारेको प्रस्ट भइरहेको छ । अझै ठूला हानी नोक्सानी बेहोर्नु पर्ने सम्भावना नजिक छ । तसर्थ वन डँडेलो लगाउनबाट सबैले सबै ठाउँबाट नियन्त्रण गर्नुपर्छ ।




