भयाबह बन्दै आगलागी
पुसको रुँद, माघको वुँद, फागुने झरी, समय परी भन्ने कहावत छ, तर अहिले चैत आधाआधी हुँदासम्म जमिन भिज्ने गरी बर्षा भएको छैन ।
एकातिर किसानले खेती थाल्न पाएका छैनन्, अर्कातिर जताततै सुख्खा, रुखो खडेरीको समस्या चर्किरहेको छ ।
जसले गर्दा पानीको मुल सुक्दै जाने, बटवृक्ष मर्ने, सुक्ने समस्या हुन थालेको छ ।
त्यो भन्दा पनि प्रत्यक्ष रुपमा सिधै देखिने समस्या डँडेलो, आगालागीको छ । केही दिनयता जताततै बनजंगलमा डँडेलो लाग्न थालेको छ । अनियन्त्रित डँडेलोले जंगल सखाप पार्न थालेको छ । असंख्या पशुपंक्षी स्वाहा हुन थालेका छन् ।
बुधबार मात्रै एकजना वृद्धको डँडेलोबाट मृत्यू भएको छ । आरुघाट गाउँपालिका ६ आरुआर्बाङका ७२ बर्षका एक वृद्धको डँडेलोको लप्कामा परेर मृत्यू भएको छ ।
सोही दिन बारपाक सुलीकोट ८ का एक दलित परिबारको ब्याउने बेला भएको भैँसी डँडेलोमा परेको छ । त्यस्तै शहीद लखन गाउँपालिका ६ दार्चेको नारायण रेग्मीको घरमा आगलागी हुँदा चार वटा माउ बाख्रा मरेका छन् । जानकारीमा आएको मात्र यति दुर्घटना भएका छन्, जानकारीमा नआएका अन्यत्र पनि यस्ता घटना पक्कै पनि भएको हुनसक्छ ।
डँडेलो कुनै पनि कोणबाट विश्लेषण गर्दा फाइदाजनक हुदैन । तर कतिपय सर्वसाधारणले वनमा डँडेलो लगाउन छाडेका छैनन् ।
शिकार खेल्ने उद्देश्यले, सुकेका झारपात डढाएर खरानीको मल उठाउने उद्देश्यले, झाडी मास्ने उद्देश्यले, नयाँ घाँस पलाओस् भन्ने उद्देश्यले उनीहरुले डँडेलो लगाएका हुन्छन् । साना स्वार्थले निम्त्याउने भयाबहबारे उनीहरुले सोचेका हुदैनन् ।
त्यसैले घर पोलेर खरानी बेचेजस्तो ध्वंसात्मक वुद्धि नझिकौँ । डँडेलो नलगाउऔँ । लगाउनेलाई कारबाही गरौँ ।




