| सोमवार, कार्तिक २३, २०८३

स्वरोजगार गर्न चाहनेलाई हरतरहबाट सहयोग गरौँ

पालुङ्टार नगरपालिका ५ हवाइग्राउण्ड भन्ने ठाउँमा सावुन उद्योग स्थापना भएको छ । स्थानीय एक दम्पत्तिले कोपिला सोप इण्डस्ट्रिज सञ्चालन गरी पालुङ्टार ब्राण्डको लाउण्ड्री सोप उत्पादन सुरु गरेका हुन् ।
साबुन उद्योग सञ्चालनका लागि कोपिला थापा तथा उनका पति रोलबहादुर थापाले करिब ३० लाख रुपैयाँ लगानी गरेका छन् ।


कोभिडका कारण रोलबहादुरले गतबर्ष कतारमा रोजगारी गुमाए । त्यसपछि नेपाल आएका उनले यूरोपेली देशहरुमा रोजगारी खोज्न थाले । सोही क्रममा बिचौलियाहरुलाई करिब १० लाख रुपैयाँ चढाए तैपनि रोजगारी पाएनन् । त्यसपछि निराश भएका उनलाई श्रीमती कोपिलाले उद्योग खोलेर स्वरोजगार बन्न प्रेरणा दिइन् ।

उनले गुगल सर्च गरे । सावुन उद्योग सञ्चालनतर्फ आकर्षित भए । उनीहरुलाई उद्योग सञ्चालनमा मिलिजुली सहकारी संस्थाले ऋण सहयोग गर्ने जनायो ।
त्यसपछि उनले स्वदेशमा उद्योग सञ्चालन गर्ने र आफू जस्ता रोजगारी खोज्ने एकसय जनाभन्दा धेरैलाई स्वदेशमै रोजगारी सिर्जना गरेका छन् । उनीहरुको यो कदम सबैका लागि उदाहरणीय छ ।
अब हामी परनिर्भर होइन, आत्मनिर्भर हुनुपर्छ ।

त्यो भन्दा पनि हामीले रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमुखीहरुलाई स्वदेशमै रोजगारी दिन सक्नुपर्छ । यसले महानता दर्शाउँछ । साथै रोजगारी सिर्जना गर्न सकेमा विकास र संवृत्तिको नारालाई सफलीभूत बनाउन मद्दत गर्नेछ ।
युवालाई स्वरोजगार बनाउन तथा रोजगारी सिर्जना गर्ने कामका लागि सरकारले पनि सहजीकरण गर्नुपर्छ । स्वरोजगार गर्न चाहनेलाई हण्डर ठक्कर दिने नभै उनीहरुको हर कदममा सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्