माछाखोलाको साँटो नाम्रुङमा खाद्य डिपो स्थापना गर
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी सहुलियतमा उपलब्ध गराउने चामल केही बर्षयता माछाखोला डिपोबाट बिक्री हुन छाड्यो । यसको अर्थ हो, माछाखोला क्षेत्रका बासिन्दालाई खाद्यको चामल रुचेन ।
दुर्गम रहुञ्जेल माछाखोला बजारमा सो कम्पनीको चामल मनग्ये बिक्री हुन्थ्यो । तर जबदेखि माछाखोला बजार दुर्गम रहेन, तबदेखि कम्पनीको चामल बिक्न छोड्यो । कम्पनीले ढुवानी खर्च ब्यहोर्ने हुँदा उपभोक्ताले सुपथ मूल्यमा चामल त पाउँथे, तर दुर्गम रहुञ्जेल सो क्षेत्रमा चामलमा विविधता पाइन्नथ्यो ।
अहिले सो ठाउँमा सडक सञ्जाल विस्तार भयो । गाडी चल्ने भएपछि व्यापारीहरुले विविध गुणस्तरको चामल भित्र्याए । उपभोक्ताहरुले रोजीछाडी चामलको स्वाद लिन पाउने भए । तब खाद्य कम्पनीको चामल रोजाइमा पर्न छोड्यो ।
यसलाई अस्वाभाविक मान्नु हुदैन । मान्छेमा स्वतन्त्रता छ, स्वतन्त्रताको उपयोग गर्नु अस्वभाविक होइन । तर अब सरकारले यस बारेमा फरक कोणले सोच्नु पर्ने अबस्था सिर्जना भएको छ ।
माछाखोलामा रहेको खाद्य डिपोलाई नाम्रुङमा स्थानान्तरण गर्नु जरुरी छ । अति दुर्गम भएको हुँदा साबिक बिहीभन्दा माथि प्रोक, ल्हो, सामागाउँ गाविसका बासिन्दा आफ्नो कोटाको चामल समेत लिन फिलिम डिपोसम्म आउन नसक्ने अबस्था छ । त्यसैले औचित्यहिन रहेको माछाखोला डिपोलाई प्रोकको नाम्रुङमा स्थानान्तरण गरेमा सो क्षेत्रका बासिन्दा धेरै प्रभावित हुनेछन् ।
अहिले सडक सिर्दिबाससम्म पुगेको छ ।
सो ठाउँसम्म सवारी चल्न नसकेपनि केही बर्षभित्र सो ठाउँमा पनि गाडी चल्नेछ । अनि त्यहाँसम्म पनि सुपथ मूल्यमा विविध गुणस्तरको चामल पाइनेछ । त्यसपछि त्यसलाई छेकम्पारतिर स्थानान्तरण गर्नुपर्ने हुन्छ । जहाँ आबश्यक छ, त्यहाँ नै डिपो स्थानान्तरण गर्नुपर्छ ।




