गोरखा अस्पतालको हितलाई केन्द्रमा राखी काम गर
अल्लि धेरै पैसा हुनेहरु, शीर्ष नेताहरु सामान्य स्वास्थ्य चेकजाँच तथा उपचार गर्न विदेश जान्छन् । गोरखाको सन्दर्भमा भन्नुपर्दा, सक्षमहरु स्वास्थ्य चेकजाँच, उपचार गर्नुप¥यो भने काठमाडौँ, पोखरा, चितवन जान्छन् ।
कतिपयलाई छाडेर आम सर्वसाधारण बिरामी भए भने शरण लिन गोरखा अस्पताल जान्छन् । गोरखा अस्पताल आम गोरखाबासीको आस्थाको धरोहर हो । उनीहरुको ज्यानको बिमार निको गराइदिने, प्राण रक्षा गरिदिने आशा र भरोसा गोरखा अस्पतालमै छ । त्यसैले यसको संरक्षण गर्नु आम नागरिकको संरक्षण गर्नु हो ।
यसलाई फुलाउने, फलाउने काम गर्नु भनेको परोपकार गर्नु हो ।
अरुलाई जीवन दिने अस्पताल आफै भने निर्जीव हो । यसलाई जीवन दिने, गति दिने अस्पताल व्यवस्थापन समितिले हो । अस्पताललाई फुलाउन, फलाउन समितिले योजना बनाउने, योजना सफलीभूत बनाउन दौडधूप गर्ने, कार्यान्वयनका लागि अहोरात्र खट्नु पर्ने हुन्छ । तर गोरखा अस्पतालको भलाइका लागि अन्तरमनदेखि नै खट्ने मान्छेको अभाव छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मी टोली मात्र खटिएर अस्पतालले गति लिने होइन, यसको व्यवस्थापकीय पाटो बलियो बनाउन समिति नै बढि लाग्नु पर्छ । तर समितिको ध्यान, मन अस्पताल विकासतर्फ भन्दा कर्मचारी भर्ना गर्नतिर मात्र भएजस्तो देखिन्छ ।
यसअघि डाक्टर गुणराज लोहनी तथा डाक्टर केशवराज भुर्तेल मेडिकल सुपरिटेण्डेण्ट हुँदा अस्पतालले जुन ख्याति कमाएको थियो, अहिले त्यो दृश्य देखिदैन । त्यो अबस्थामा पु¥याउन आन्तरिक रुपमा मेडिकल सुपरिटेण्डेण्टको भूमिका पनि उत्तिकै चाहिन्छ, तर बाहिरबाट दिने साथ सहयोगका लागि समिति मजबुद हुनुपर्छ ।




