| सोमवार, कार्तिक २३, २०८३

प्रजातन्त्र दिवस अवमूल्यन गरेको नतिजा

केहीबर्ष अघिसम्म फागुन ७ गते भव्यताका साथ प्रजातन्त्र दिवस मनाइन्थ्यो । देशभर सार्वजनिक विदा हुन्थ्यो ।


एकसय चार बर्षसम्म जरा गाडेको निरङ्कुश राणा शासनका बेला नेपाली जनताले पाएको सकसको चर्चा हुन्थ्यो अनि शहीदहरुको बलिदानीले २००७ सालको फागुन सात गते जहानियाँ राणा शासनको अन्त्य गरी नेपाली जनतालाई प्रजातन्त्रको प्रत्याभूति गराएको बारे प्रकाश पारिन्थ्यो ।


जुन नेपालको इतिहासमा एउटा ठूलो परिवर्तन थियो, त्यसलाई अहिले प्राथमिकतामा राख्न छाडियो र प्रजातन्त्र दिवस मनाउन छाडियो । अहिलेका नेतालाई लाग्यो, ‘आन्दोलन त हामीले मात्र गरेका हौँ, इतिहासमा भएको आन्दोलन र परिवर्तनको कुनै भाउ छैन ।’ जुन सोचाइ अहिलेको नेतामा पलायोे र प्रजातन्त्र दिवसको ऐतिहासिक महत्व माटोमा मिलाउने दुश्प्रयास गरेका छन्, यसको परिणाम उनीहरुले पक्कै भोग्नेछन् । किनभने उनीहरुबाट नयाँ पुस्ताले पनि पाठ सिक्नेछन् र उनीहरुको योगदान पनि चटक्कै बिर्सनेछन् ।


इतिहासको मर्म र भावनाको सम्मान गर्न नयाँ पुस्तालाई पनि सिकाएको भए, अहिलेका नेताको त्याग, बलिदान र परिवर्तनलाई पनि भावी पुस्ताले स्मरण गर्नेथिए, सम्मान गर्ने थिए । तर दुखपूर्वक भन्नुपर्छ, इतिहास बिर्सने पाठ सिकाएका छन्, त्यसको प्रतिफल उनीहरुले पक्कै भोग्नेछन् ।


फागुन ७ मा मनाइँदै आएको प्रजातन्त्र दिवसको अद्वितीय महत्व छ । प्रजातन्त्र दिवस मनाउन छोड्ने अल्पकालीन सोच भएका, दीर्घकालीन सोच नभएका नेताहरुको निणर्य पक्कै पनि पुनर्विचार हुने विश्वास छ । सरकार बदलिएपछि पुन प्रजातन्त्र दिवसको महत्वलाई सम्झनेछन् र यसलाई पुन भव्यताका साथ मनाउने निणर्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्