लुइँटेल स्कूलको साख नगिरोस्
गोरखाको लुइँटेल स्कूल गोरखा जिल्लाभित्र मात्र होइन, आसपासका जिल्लाहरु माझ पनि नामी थियो । गोरखाका बिभिन्न गाउँहरु, लम्जुङ, तनहूँ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, चितवन, नवलपरासीदेखिका विद्यार्थी यहाँ पढ्न आउँथे ।
यहाँ पढ्ने करिब एक दर्जन विद्यार्थीले एसएलसी परीक्षामा टपटेनभित्रका धेरै स्थान कव्जा गर्थे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले २०२६ सालको एसएलसीमा बोर्डफस्र्ट स्थान चुमेका थिए । त्यसपछिका बर्षहरुमा बोर्ड टेनका दुई, तीन, चार स्थानसम्म यहाँ पढ्ने विद्यार्थीले ओगट्थे ।
यसले लुइँटेल स्कूलको मात्र होइन, जिल्लाको ख्याति पनि निकै उकासिएको थियो ।
तर जब २०३६ सालमा नेपालको राजनीतिक तापक्रम बढ्न थाल्यो, त्यसपछि त्यहाँको पठनपाठन पनि तरल बन्न थाल्यो । लुइँटेल स्कूलाई त्यो स्थानसम्म पुर्याउने विदेशी शिक्षक, शिक्षिकहरुले मौरीले घार छाडे झैँ छाडेर गए । त्यसपछि गिर्दै गएको त्यहाँको शैक्षिक स्थिति अहिले जिल्लाका आम विद्यालय सरह भएको छ ।
त्यहाँ त्यतिबेला पढेका र हाल राष्ट्रका सम्मानित स्थानमा पुगेकाहरुको विश्लेषणअनुसार विद्यालयलाई राजनीतिक गन्धले प्रदुषित बनायो । व्यवस्थापन समिति गठन हुँदा वा शिक्षक नियुक्ति गर्दा राम्रो भन्दा हाम्रोलाई प्राथमिकता दिइयो । अभिभावकमा पनि शैक्षिक चेत घट्दै गयो । पढाइलाई पैसामा जोख्नेहरुले छोराछोरी सहर पठाए । निम्नबर्गका विद्यार्थी मात्र यहाँ पढ्ने भएपछि विद्यालयको स्तरोन्नतिप्रति उच्चबर्गको चासो कम भयो ।
देशको विकास नै शिक्षा विकासमा निर्भर रहन्छ भन्नेमा दोराय हुदैन यदि भने अब गोरखाका अरु विद्यालयलाई पनि पुरानो लुइँटेल स्कूलजस्तो बनाऔँ ।




