| सोमवार, कार्तिक २३, २०८३

बलात्कारीको तीब्र खोजी होओस्

गोरखा नगरपालिका ८ खोलखोलेमा एक परिबार बलात्कार घटनाबाट पिडित छ । गत वैशाख महिनाको २१ गते १४ बर्षकी किशोरीमाथि बलात्कार भयो । त्यसपछि उनी गर्भवती भइन् । बलात्कारका आरोपी स्थानीय तुलबहादुर थापा गत कात्तिक महिनादेखि फरार छन् ।
उनलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन परिबारले बारम्बार आग्रह गरिरहेका छन्, तर प्रहरीले बलात्कारीलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । तर प्रहरीले तिब्र खोजी कार्य भइरहेको जवाफ दिन पनि छाडेको छैन ।


बलात्कारबाट गर्भवती भएकी १४ बर्षकी बालिकाको सुत्केरी हुने दिन अब एक हप्ता मात्रै बाँकी छ । तर बच्चाको लालनपालन तथा जिन्दगीभर भरणपोषणको जिम्मा कसलाई दिने ? पिडित परिबार अन्यौल छ ।


देशभर बलात्कार तथा महिला हिंसाका घटना बढिरहेको विरोधमा गोरखामा पनि बेलाबेला बिरोध प्रदर्शन भइरहन्छ । तर यस्ता घटना छिपेर रहेको छ । यसलाई निकास दिनतर्फ कसैले जोडबल गरेको देखिदैन ।


जिल्ला बाहिर भएका घटनाको बारेमा यहाँ नारा, जुलुस हुन्छ, कार्यक्रमहरुमा कलात्मक वक्तृता सुनिन्छ तर जिल्लाभित्रको यो घटनामा न कुनै दिन बिरोधको आवाज सुनियो, न कतै ज्ञापन पत्र, ध्यानाकर्षण पत्र पेश भयो । यसबारे गोरखामा केही चाइँचुइँ सुनिदैन ।


स्थानीयस्तरको घटनाका बारेमा किन आवाज उठ्दैन ? कि माथिबाट आदेश आएपछि मात्र यहाँ बिरोध तथा वक्तव्यवाजी गर्ने हो ? त्यस्तो त पक्कै होइन होला किनभने अधिकारकर्मी भनेका सचेत, सजग, जागरुक बर्ग हो । उनीहरु परनिर्भर हुदैनन् ।


प्रहरीले पनि खोजी कार्य गरिरहेको भन्ने ‘रेडिमेड’ जवाफ दिएर बस्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्