नयाँबर्ष २०२१ मा कोरोना उन्मुलन होओस्, शुभकामना
इस्वी सन्को नयाँवर्ष २०२१ आजदेखि सुरु हुदैछ । यस उपलक्ष्यमा बिगत बर्षको सबै नमिठा घटनाहरु सिनित्तै सिद्धियून् र नयाँ शुभ, सुखप्रद क्षणहरु मात्र आउन् भनी सबैमा शुभकामना ।
सन् २०२० लाई नेपालले भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको थियो, तर नयाँ बर्ष सुरु नहुदै डिसेम्बर महिनादेखि नै विश्वलाई कोरोना भाइरसले गाँज्यो । हप्ता, महिना, दुई महिना हुदै सिँगै बर्ष २०२० कोरोनामय बन्यो । जसका कारण विश्व ‘लकडाउन’ भन्यो । चीनलगायत एकाध मुलुकबाहेक विश्वको अर्थतन्त्र डामाडोल बन्यो । अहिलेसम्म पनि कोरोना संक्रमितको संख्या साविककै छ । यद्यपि कोरोनाको त्रास कम भएको छ ।
नयाँ बर्ष २०२१ को सुरुवाती दिनमा बेलायतमा देखा परेको नयाँ स्वरुपको कोरोना भाइरसको त्रास जन्मिएको छ । यसले २०२१ लाई त्रासदीमा नगाँजोस् ।
नयाँबर्ष २०२१ लाई कोरोनाको खोप अभियान बर्षको रुपमा मनाउनु पर्ने चर्चा चलेको छ । यो सुखद पक्ष हो । विकसित, विकासशील, अविकसित सबै मुलुकले यो अवसर पाउन् । सक्षम मुलुकले असक्षम मुलुकलाई सहयोग गरुन् किनभने कुनै पनि देशमा यो निर्मुल भएन भने पुन फैलन सक्ने सम्भावना जीवित रहन्छ ।
नयाँबर्ष २०२१ अर्थतन्त्र उकासिने बर्ष बनोस् । पाताल धसिएको पर्यटन बिस्तारै बामे सरोस् । यातायात क्षेत्र तथा वायुसेवा क्षेत्रमा विस्तारै पँखेटा लागोस् । ठप्प प्राय रहेको शिक्षा क्षेत्र सुचारु होओस् । कोरोना त्रासका कारण सुचारु हुन नसकेका व्यापार, व्यवसाय, मठमन्दिरहरु विस्तारै सुचारु होउन् । नयाँबर्षले यस्तै सुखदको वर्षा गरोस् । शुभकामना ।




