| सोमवार, कार्तिक २३, २०८३

बेनिघाट, लार्के सडकको जगतखण्ड कहिलेसम्म अवरुद्ध

बेनिघाट, आरुघाट, लार्के सडकको नेपाली सेनाले निर्माण गरिरहेको जगतखण्डको काम एकबर्षदेखि अबरुद्ध छ । ‘कुन बाटो ट्रयाक खोल्ने’ भन्ने सवालको समाधान ननिस्कँदा सो खण्डमा काम नभएको हो ।


अहिले सेनाले जिम्मा लिएको ९२ किलोमिटरमध्य ३१ किलोमिटरसम्म ट्रयाक खनिएको छ । १७ किलोमिटरसम्म(तातोपानीसम्म) सवारी साधन चल्छ ।
तर जगतखण्डमा केही पनि काम भएको छैन ।

बीच बजारबाट खन्ने कि, बजार पछाडिबाट खन्ने कि बजारभन्दा तलबाट खन्ने भन्नेमा बजारका बासिन्दाहरु बीच मतैक्य छैन ।

कुनैपनि बिकल्प उपयुक्त छैनन् । अनुपयुक्तमध्य कुन चाहिँ कम जोखिमयुक्त छ भन्नेमा सबैको फरक फरक मत छ । तर मतैक्य नभएसम्म सेनाले सो खण्डमा सडक निर्माण नगर्ने जनाएको छ ।

सर्भे भने बजारभन्दा कुनाबाट भएको छ । कुनाबाट सडक निर्माण गर्दा बिस्फोट गर्नु अनिबार्य छ । बिस्फोट गर्दा बजारका लाखौं लगानी गरेर निर्माण गरेका होटल, रेष्टुरेण्ट, टिहाउसहरु, सर्बसाधारणका आवास घरहरु भत्किने निश्चित छ । बीचबाट लैजानका लागि पनि घरको पिँडीसम्म भत्काउनु पर्ने हुन्छ । बजारबीचको एउटा माने पनि बिस्थापित गर्नुपर्छ, जुन धार्मिक, साँस्कृतिक दृष्टिकोणले सहज छैन ।

बजारभन्दा तलबाट लैजाउँ पनि बजारभन्दा तल डोजर लगाएर खन्दा बजार भासिने जोखिम उत्तिकै, बूढीगण्डकी नदीका कारण सडक संरचना सँधै जोखिम हुने समस्या उत्तिकै छ । सडक आफै जोखिम हुने, जसका कारण बस्तीलाई जोखिम बनाउने खतरा उस्तै ।

यी समस्याको समाधान ननिस्कँदा जगतखण्डमा सडक निर्माण भएको छैन । सडक निर्माण नगरी पनि भएको छैन, उपयुक्त पनि बिकल्प पनि निस्किएको छैन ।

स्थानीयबासीको सघन छलफलपछि एउटा उपयुक्त विकल्प दिएर सडक निर्माणलाई सुचारु गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्