स्थिरतामाथि कुठाराघात
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरे । सो निणर्यले कम्तिमा पाँच बर्ष एउटै पार्टीको सरकार बन्ने र विकास र संवृद्धिलाई उचाइमा पुर्याउने नेपाली जनताको मर्म र भावनामा कुठाराघात भएको छ ।
प्रधानमन्त्री पक्षधरले सो निणर्यलाई कठोर रुपमा निश्कर्षमा पुर्याउने दावी गरिरहेको छ भने नेकपा(प्रचण्ड गुट), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी नेपाललगायतका दलहरुले सो निणर्यको प्रतिवाद गर्ने निणर्य गरेका छन् । असंवैधानिक, अलोकतान्त्रिक निणर्यविरुद्ध सर्वोच्च गुहार्ने, जनता गुहार्ने, सडक तताएर सडकबाटै पुनस्थापना गर्ने उनीहरुको योजना छ । त्यसैले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले मान्यता पाउला वा नपाउला, निकट भविष्यको घटनाक्रमले देखाउला ।
२०४६ सालको बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना भएदेखि अहिलेसम्मको इतिहासमा कुनै पनि सरकारले बहुमतको सरकार बनाएर निर्धारित अवधि(पाँच बर्ष) टिकेको रेकर्ड छैन । माओवादी, एमाले गठबन्धन गरी चुनावमा जाँदा पालुङ्टारको चुनावी सभामा बोल्दै तत्कालीन एमालेका अध्यक्ष ओलीले काङ्ग्रेसलाई अव इतिहासमा मात्र पढ्न पाउने भन्दै तुच्छ भाषण गरेका थिए । तत्कालीन काङ्ग्रेस नेतृत्वको सरकारलाई नेपालको इतिहासमै काङ्ग्रेस नेतृत्वको सरकार यो नै अन्तिम भएको घोषणा गरेका थिए ।
तर ओलीले तुच्छ गाली गरेको पार्टीसामु आफ्नो नेतृत्व सुदृढ पार्न सकेनन् । अहिले उनकै कार्यकर्ताले उनीमाथि देशभर मुर्दावादको नारा घन्काइरहेको उनले तुच्छ गाली गरेको पार्टीले हेरिरहेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको भन्दै उनले संसद भंग गरेको सोमबारको संवोधनमा बताए । यसबाट के देखिन्छ भने उनले आफ्नो कुर्ची जोगाउन देशको भविष्यमाथि खेलवाड गरे । आफूलाई बलियो बनाउन उनले देशको कानून, शासन व्यवस्था र देशको भविष्यलाई कमजोर बनाएका छन् ।




