| सोमवार, कार्तिक २३, २०८३

आमाघरको काम देखासिकी गर्न लायक

गर्भवती तथा सुत्केरी महिला र शिशुको स्वास्थ्यका लागि शहीद लखन गाउँपालिकाले ‘आमाघर’को अवधारणालाई अघि बढाएको छ । गाउँपालिकाले वडा नं. १ बक्राङमा स्थानीयबासीसँग सहलगानी गरी ‘आमाघर’ निर्माण आरम्भ गरेको छ ।

‘आमाघर’मा गर्भवतीलाई सुत्केरी हुने दिनभन्दा एकसाता अघिदेखि राखिन्छ । सुत्केरी हुनै लागेको अवस्थाकी महिलालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । सुत्केरी भईसकेको एक सातासम्म पनि आमा र बच्चा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आमाघरमा रहन्छन् ।

बर्थिङ सेन्टर र स्वास्थ्य चौकी पनि संगै भएकाले उनीहरुको हरेक स्वास्थ्य अवस्थाको निगरानी गरिन्छ । जसले गर्दा बच्चा र आमाको स्वास्थ्य अपेक्षित राम्रो हुनेछ । भूलवश, गल्ती, कमजोरीवश, अञ्जानवश हुने खतराबाट मुक्त हुनेछन् । त्यसैले यो कदम शहीद लखन गाउँपालिकाको अति स्वागतयोग्य, अति प्रसंसनीय छ ।

गाउँपालिकाले आमाघरका लागि स्थानीयबासीसंग साझेदारी गरेको छ जसमा प्रति घरधुरी तीन सय ५० रुपैयाँ संकलन गरेर तीन लाख र स्वेच्छिक तीन गरी छ लाख संकलन भईसकेको छ । अपुग रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाको यो कामले गर्दा प्रशुती गराउनकै लागि सदरमुकाम वा जिल्ला बाहिरका ठुला अस्पताल जानुपर्ने बाध्यतामा कम हुने अपेक्षा छ ।

कतिपय गाउँपालिकाले दिन कटाउने र आफ्नो अवधि पार गर्ने काम मात्र गरिरहेका छन् भने कतिपय पालिकाले यस्ता रचनात्मक, सिर्जनात्मक काम गरेका छन् । यस्ता रचनात्मक, सिर्जनात्मक काम अन्य पालिकाले पनि देखासिकी गर्न लायक छ ।

प्रतिक्रिया दिनुहोस्